समाज

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका-२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ।  

नेपाल रेडक्रसले हेलिकप्टर मार्फत ती अत्यावश्यक सामग्री पुर्‍याएर  ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो। यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण उत्तरगया-२ हालसम्म पनि सडक सञ्जालबाट विच्छेद छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय  महासंघ (आइएफआरसी) को सहयोगमा ती घरधुरीलाई आवश्यक खाद्य समग्री वितरण गरिएको सोेसाइटीले जनाएको छ। ती सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार  भण्डारी लगायत स्वयंसेवकले वितरण गरेका थिए।

उनले भने, 'भोटेकोशी नदीको बाढीबाट उत्पन्न विपद्को तत्काल प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक अहोरात्र तल्लीन छन्। स्वयंसेवक रसुवा, नुवाकोट तथा धादिङको बाढी अतिप्रभावित स्थानमा खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण एवं समन्वय गरिराखेका छन्। यसक्रमा बाढी प्रभावितलाई आवश्यक सामग्री वितरणको क्रम जारी छ।'

आजदेखि रेडक्रस आपत्कालीन क्लिनिक सञ्चालनमा

सोसाइटीले बाढीप्रभावित नुवाकोटको विदुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आजदेखि रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउँदै छ। नुवाकोट आदर्श बहुमुखी क्याक्पस  बट्टार परिसरमा सञ्चालन हुने सो क्लिनिकमार्फत ‘होल्डिङ सेन्टर’मा रहेका बाढीप्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिने छ।  

सोसाइटीले दिएको जानकारीअनुसार यस्तो सेवामा बहिरङ्ग सेवा, मनोसामाजिक परामर्श तथा स्वास्थ्य परामर्श, चिकित्सकको सिफारिसअनुसार औषधि सेवा, समुदायमा स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी मोबाइल सेवा र प्रेषण (रेफरल) रहेका छन्। 

प्रकाशित: २३ भाद्र २०८३ ०९:३९ मंगलबार