नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तरराष्ट्रिय मापदण्डका मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले नेपाल गुणस्तर निर्धारण तथा पुनरावलोकनका लागि गठित प्राविधिक समितिबाट सिफारिस भएका विभिन्न गुणस्तरको मापदण्ड स्वीकृत गरेको हो। बैठकमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागिता रहेको थियो।
परिषद्ले मोटर ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा प्रयोग हुने इथानोलको स्पेसिफिकेसन तथा इलास्टोमेरिक ब्रिज बेयरिङसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । त्यसैगरी, रबरको कठोरता परीक्षणसम्बन्धी विभिन्न अन्तरराष्ट्रिय मापदण्ड स्वीकृत गरिएको छ।
यस्तै, रबर तथा थर्मो प्लास्टिकको कम्प्रेसन सेट निर्धारणसम्बन्धी मापदण्डलाई पनि बैठकले अनुमोदन गरेको छ । परिषद्का अनुसार गुणस्तरसम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै अन्तरराष्ट्रिय अभ्यासअनुसार बनाउने उद्देश्यले बैठकले उक्त निर्णय गरेको हो।
स्वीकृत मापदण्डले उद्योग तथा उत्पादन क्षेत्रको गुणस्तर अभिवृद्धि, परीक्षण प्रणालीलाई प्रभावकारी बनाउन तथा नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, गुणस्तर निर्धारण तथा पुनरावलोकन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा पनि आवश्यक निर्णय गरेको छ ।
प्रकाशित: २२ श्रावण २०८३ ०७:०९ शुक्रबार