नेपाल र चीन सयुक्त सैन्य अभ्यासको सुरु भएको छ । नेपाली सेना र चीनको जनमुक्ति सेना (पीपुल्स लिबरेसन आर्मी, पीएलए) बीच पाँचौं संस्करणको ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको संयुक्त सैन्य अभ्यास आइतबारदेखि सुरु भएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतका अनुसार सैन्य अभ्यास १० दिनसम्म चल्नेछ । सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाको टोली शुक्रबार नै काठमाडौं आइपुगेको हो ।
आतंकवादविरुद्धका अभियान, युद्धकौशल र विपद् व्यवस्थापनमा ध्यान केन्द्रित गरिनेछ । गत वर्ष चौथो संस्करणको अभ्यास चीनको सिचुआन प्रान्त नजिकैको छङछिङ शहरमा भएको थियो ।
प्रवक्ता बस्नेतले संयुक्त अभ्यास नियमित सैन्य सहकार्य कार्यक्रमको भएको बताए । ‘प्रतिआतंकवाद अपरेशन, युद्धकौशल, विपत् व्यवस्थापन लगायतका विषयमा अभ्यास केन्द्रित हुनेछ’, प्रवक्ता बस्नेतले भने ।
उनका अनुसार नेपालले क्षमता विकास र अनुभव साटासाट गर्ने उद्देश्यले भारत, अमेरिका र चीनसँग यस्ता अभ्यासहरू नियमित रूपमा गर्दै आइरहेको छ । नेपाल–चीनबीच पहिलो संयुक्त सैन्य अभ्यास अप्रिल २०१७ मा काठमाडौंमा भएको थियो ।
यस्तै दोस्रो संयुक्त अभ्यास २०१८ मा छेन्दुमा र तेस्रो २०१९ मा नेपालमै भएको थियो । कोभिड–१९ महामारीका कारण केही वर्ष रोकिएको यो अभ्यास गत वर्ष चीनमा पुनः सुरु गरिएको थियो ।
यस्तै नेपालले अमेरिका र भारतसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आइरहेको छ । नेपालले भारतसँग ‘सूर्य किरण’ नाम दिएर संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।
प्रकाशित: २२ भाद्र २०८२ १६:२१ आइतबार