नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।
आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय मिडिया आज तकमा प्रकाशित समाचारमा उल्लेख छ।
जैश ए मोहम्मदका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको बाटो हुँदै भारतमा घुसेको इन्डिया टुडेको समाचारमा उल्लेख छ।
समाचारमा लेखिए अनुसार उनीहरु तीनैजना पाकिस्तानी नागरिक हुन्। उनीहरु भारतमा घुसेको सूचनाले सुरक्षा निकायमा हलचल पैदा भएको समाचारमा उल्लेख छ।
तर, उनीहरु नेपाल–भारत सीमाको कुन नाका भएर बिहार प्रवेश गरे र कहिले प्रवेश गरे भन्ने समाचारमा उल्लेख छैन।
भारतको न्युज–एट्टिनको अनलाइन संस्करणमा लेखिए अनुसार उनीहरुको हुलिया र परिचयसहितको विवरण प्रहरीका सबै युनिटहरुमा पठाइएको छ र सतर्क रहन भनिएको छ।
यसैगरी ईटिभी भारतले बिहारका खासगरी सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलका प्रहरीहरुलाई अलर्टमा राखिएको जनाएको छ र संदिग्ध गतिविधिलाई निगरानी गर्न भनिएको छ।
साथै, स्थानीयलाई पनि कुनै गतिविधिमा शंका लागेमा नजिकको प्रहरीमा खबर गर्न आह्वान गरिएको छ। यसअघि सन् २०२४ मा पनि नेपालबाट आतंकवादी घुसेको भन्दै तीन जनालाई भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए।
यद्यपि भारतीय पक्षले तीन पाकिस्तानी आतंककारी नेपाल हुँदै भारत प्रवेश गरेको दाबी गरे पनि नेपाल सरकार वा नेपाली प्रहरी पक्षले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
प्रकाशित: १२ भाद्र २०८२ १४:५१ बिहीबार