समाज

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ।

आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेको थियो। बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ।

मतदातालाई धन्यवाद दिन पार्टीले जिल्ला, पालिका र वडा समितिहरूमार्फत स्थानीय स्तरमै जनताको भेला आयोजना गर्नेछ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले कार्यकर्ताहरूलाई सैद्धान्तिक रूपमा प्रस्ट हुन र जनतालाई राजनीतिक रूपमा शिक्षित गर्न निर्देशन दिएका छन्।

उनले पार्टीका प्रकाशनहरूको अध्ययन र अन्तरक्रियामा जोड दिँदै जनवर्गीय तथा पेसागत संगठनहरूलाई थप सक्रिय बनाउनुपर्ने औंल्याए। मजदुर आन्दोलनमा देखा परेका पुँजीवादी विचारको वैचारिक रूपमै खण्डन गर्नुपर्नेमा अध्यक्ष बिजुक्छेको जोड छ।

अन्तर्राष्ट्रिय राजनीतिको सन्दर्भमा नेमकिपाले अमेरिकी ट्रम्प प्रशासनको आलोचना गरेको छ। बैठकले भेनेजुएला र इरानमाथि ट्रम्प प्रशासनले गरेको आक्रमण र क्युवाविरुद्ध लगाएको नाकाबन्दीको विरोध तथा भर्त्सना गरेको छ।

साम्राज्यवादको पतन र समाजवादको विजय निश्चित रहेको विषयमा नयाँ पुस्तालाई शिक्षित गर्दै जानुपर्नेमा बैठकले जोड दिएको छ।

यसैगरी, पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रस्तुत गरेको पार्टीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनलाई बैठकले आवश्यक सुझावसहित पारित गरेको छ।

प्रकाशित: २३ चैत्र २०८२ २१:०४ सोमबार