समाज

कालोमोसो दलेको आरोपमा नेकपा बहुमतका नेता पक्राउ

नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख शालिग्राम लम्साललाई कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका सेक्रेटरी ध्रुव खड्का पक्राउ परेका छन्। 

मंगलबार बहुमतका कार्यकर्ताले लम्सालको कार्यकक्षमा पुगेर कालोमोसो दलेका थिए। कालोमोसो दल्न पुगेका व्यक्तिले छाडेको प्रचारका आधारमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए। 

हिजो दुई जना अपरिचित व्यक्तिले लम्सालको अनुहारमा कालोमोसो फ्याँकेका थिए। 

उनीहरूले छाडेको प्रचारमा कित्ता काट गर्दा मोटो रकम लिने गरेको, कित्ताकाट गर्न नमिल्ने जग्गालाई भूमाफियासँग मिलेर गर्ने गरेको, सेवाग्राहीबाट विभिन्न शीर्षकमा रकम लिएको र कार्यालय समयभन्दा ढिलो कार्यालय आउने गरेको उल्लेख गरिएको छ।

प्रकाशित: २८ श्रावण २०८२ ०७:४८ बुधबार