पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन्।
प्रहरीका अनुसार मृत्यु भएका एक पुरुषको भने पहिचान खुल्न बाँकी छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो। चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १७ आश्विन २०८३ १३:०१ शनिबार



