समाज

बाढीको विपत्तिमा सबै गुमाएका नविन भन्छन्: हाम्रो पीडा सरकारले नजिक आएर हेरिदेओस्

बाढीले बस्ती बगायो। घर बगायो। परिवारका सदस्य बगायो। बाँकी रहेकाहरूको आँखाअघि अहिले घर भएको ठाउँमा बगर मात्रै छ। आफन्त खोज्दै फर्किएका बेत्रावती नगरपालिका–१० का नविन तामाङका लागि अब गुमाउन बाँकी केही छैन। उनी भन्छन्, ‘मेरो त केही छैन, कोही छैन। मेरो परिवार पनि छैन। घर पनि छैन।’

चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका नविनले आफ्नै गाउँमा आएको विपत्तिको खबर बुधबार अबेर पाए। खबर सुन्नेबित्तिकै उनी नेपाल फर्किए। तर गाउँ आइपुग्दा उनले देखेको दृश्यले उनलाई झनै स्तब्ध बनायो।

‘यहाँ झण्डै १०० घर थियो,’ उनले भने, ‘अहिले मेरो घर भएको ठाउँमा कुनै संरचना छैन। देखिएको ठाउँ सबै बगर नै छ।’

विपत्तिले गाउँ नै सखाप पारे पनि उद्धार र खोजीका लागि सरकारी टोली अहिलेसम्म नआएको उनको गुनासो छ। ‘यहाँ सरकारको कोही मान्छे पनि आएको छैन,’ उनले भने, ‘यहाँ उद्धार र खोजविनका लागि पनि कोही आएको छैन। सरकारी तवरबाट कोही पनि आएको छैन।’

विपत्तिमा घर, परिवार र सम्पत्ति गुमाएका नविन अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन्। ‘म अहिले मामा घर महभिर छु,’ उनले भने। तर भोलि कहाँ बस्ने, के खाने भन्नेबारे उनलाई कुनै टुंगो छैन।

‘यहाँ खाने के, बस्ने कसरी भन्ने पनि कुनै कुरा छैन,’ उनले भने, ‘हाम्रो अवस्था सरकारले नजिक आएर हेरिदेओस्।’

नविनका लागि यो व्यक्तिगत विपत्ति मात्रै होइन। उनी भन्छन्, ‘मेरो मात्र होइन, सबैको यस्तो भयो।’ गाउँमा कति मान्छे बाँचेर रहे भन्ने यकिन गर्नसमेत कठिन रहेको उनको भनाइ छ।

विपत्तिमा घाइतेको उद्धारभन्दा पनि ज्यान जोगाउने समय नै नपाएको अवस्था रहेको उनले बताए। ‘यहाँ घाइते भन्ने अवस्था नै छैन। भएका मान्छे सबै मरे भनेर हामीले पनि माया मार्‍यौँ,’ उनले भने।

गाउँनजिकै एउटा बालक जीवित भेटिएको खबरले भने विपत्तिको बीचमा एउटा आशाको झिल्को देखाएको छ। नविनका अनुसार ती बालकले कुनै प्रतिक्रिया जनाउन सकेका छैनन्। ‘बच्चाको आमा, हजुरआमा सबै पर्नुभयो रे। बच्चा मात्र जीवित भेटेर अस्पताल लगिएको भन्ने मैले सुनेँ,’ उनले भने।

विपत्तिको भयावहता सम्झँदै नविनलाई अहिले लाग्छ, ‘यदि समयमै सूचना आएको भए केही ज्यान जोगाउन सकिन्थ्यो कि?’

‘कसरी विपत्ति आयो भन्ने नै पहिचान भएन,’ उनले भने, ‘अलि अघि सूचना पाएको भए ज्यान जोगाउन सकिन्थ्यो कि।’

बाढी आउनुअघि सूचना, जोखिममा रहेका बस्तीको पहिचान, तत्काल उद्धार टोलीको परिचालन र सुरक्षित स्थानमा स्थानान्तरण हुन सकेको भए क्षति कम गर्न सकिन्थ्यो कि भन्ने आशा धेरैको छ ।  

अहिले नविनसँग आफ्नो भन्ने केही छैन। चार वर्ष विदेशमा पसिना बगाएर फर्किएका उनी आफ्नै गाउँमा टेक्दा घर भेटेनन्, परिवार भेटेनन्। उनको गाउँको ठाउँमा बगर छ र भविष्यबारे अनिश्चितता।

यस्तो अवस्थामा उनले सरकारसँग ठूलो माग गरिरहेका छैनन्। उनी भन्छन्, ‘सरकार गाउँसम्म आओस्, बाँचेकाहरूको अवस्था आफ्नै आँखाले देखोस् र उद्धार तथा राहतमा तत्काल हात बढाओस्।’

‘हामीलाई अहिले उद्धार चाहिएको छ,’ नविनको आग्रह छ, ‘सरकारले हाम्रो पीडा नजिक आएर हेरिदेओस्।’

बाढीले बस्ती बगाइसकेको छ। अब राज्यले बाँकी पीडितको जीवन बग्न नदिने जिम्मेवारी लिनुपर्ने समय आएको छ।

प्रकाशित: १३ भाद्र २०८३ १४:५९ शनिबार