जलवायु परिवर्तनले मानिसको जीवनलाई खतरातर्फ धकेलिरहेको बेला नेपालमा संकट समाधानका लागि पहल गर्न इटहरीमा शुक्रबारदेखि तीन दिने युवा सम्मेलन सुरु भएको छ । आइतबारसम्म चल्ने सम्मेलनले नेपालमा जलवायु संकट आउने कारण पहिचान गरि समाधानका उपाय निकाल्नेछ ।
आइएएएस नेपालको आयोजना तथा तरहरा जेसीजको सहकार्यमा युवा सम्मेलन भएको हो । आयोजक संस्थाका संयोजक प्रभात कट्वालका अनुसार यो मुद्दालाई त्यतिकै छाड्दा मानिस र प्रकृतिले थप विनास वेर्होने हुँदा यसबारे युवा विद्यार्थीलाई झिकाएर एउटा निश्कर्ष निकाल्न कार्यक्रम गरिएको हो । वास्तवमा जलवायु परिवर्तन पछिल्लो समय विश्वको चुनौतीको विषय बनेको छ ।
सम्मेलनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले जलवायु परिवर्तनको खराब परिणमबाट नेपाललाई बचाउने हो भने आम नागरिक प्रकृतिले त्राहीमाम बेर्होनु नपर्ने बताए । देशभरका ५० भन्दा बढी कृषि तथा वातावरण क्षेत्रका युवा नेतृत्वकर्ता, नीति–निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरू कार्यक्रममा सहभागी छन् । कार्यक्रममा सहभागीबिच प्यानल छलफल गरि एउटा निचोड निकालिनेछ ।
उद्घाटनका क्रममा इटहरी क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई समेत सचेतना कार्यक्रम पनि प्रदान गरिएको आयोजक समितिका संयोजक कट्वालले बताए । खासगरेर जलवायु संकट हुँदा निम्तिने समस्याबारे स्कुले विद्यार्थीलाई सचेतना फैलाउन ज्ञान प्रदान गरिएको हो ।
कोशी प्रदेशमा पहिलोपटक आयोजना भएको यस राष्ट्रिय सम्मेलनलाई आइएएएस नेपाल स्थानीय समिति ईआरसी, स्थानीय समिति गौरादह र स्थानीय समिति जीपीसीएआर ले संयुक्त रूपमा आयोजना र समन्वय गरेका छन् ।
प्रकाशित: ५ मंसिर २०८२ १८:४८ शुक्रबार