भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सीमा स्तम्भहरूसमेत बगाएको नेपाल-चीन सीमा क्षेत्रमा तीन दिनको निरन्तर प्रयासपछि पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।
नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त तथा जोखिमपूर्ण प्रयासपछि सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापना गरिएको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार बाढीले सीमावर्ती क्षेत्रका भौतिक संरचनासँगै सीमा स्तम्भहरू बगाएको र कटान तीव्र रहेका कारण नेपालतर्फको सीमा यकिन गरी झण्डा गाड्न निकै चुनौतीपूर्ण बनेको थियो।
भौगोलिक कठिनाइ र नदीको निरन्तर कटानका बाबजुद दुवै सुरक्षा निकायको उच्च समन्वयमा सीमा क्षेत्रको पहिचान गरी देशको सार्वभौमिकताको प्रतीक राष्ट्रिय झण्डा पुनः ठड्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रकाशित: २० भाद्र २०८३ १९:०० शनिबार