आज देशभर नयाँ जनै (यज्ञोपवीत) एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइएको छ। वैदिक परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा पनि सम्मान गर्ने गरिन्छ।
आज पूर्णिमाका दिन रक्षाबन्धन बाँध्न र नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौँमा पशुपतिनाथदेखि अन्य मठमन्दिर परिसर, पवित्र नदी किनार र देशभरका देवालयहरूमा भक्तजनको भीड लाग्ने गर्छ।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन छ। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रही आएको छ।
आजकै दिन ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन पनि छ। क्वाँटीको पनि धार्मिक तथा आयुर्वेद शास्त्रीय मान्यता छ। तर, जनैपूर्णिमा र क्वाँटी खाने आजको पर्वमा कतै उल्लास भने छाएन। बरु यतिखेर दुई दिनअघि रसुवा जिल्लाको भोटेकोशीमा अकस्मात आएको बाढीले पुर्याएको क्षतिका कारण देशैभरि शोक छाएको छ।
यसकारण अघिल्ला वर्षहरूमा जस्तो यो वर्षको जनैपूर्णिमा पर्वमा कुनै रौनक देखिएको छैन। पर्व मनाउन आफन्तकहाँ जानेहरूलाई पनि बाढीले बाटो बिगारिदिएका कारण आवतजावतमा कठिनाइ भएको छ। कीर्तिपुर बस्ने शोभित अर्याल सधैँ जस्तै यसवर्ष जनैपूर्णिमा पर्वमा आफ्नो घर चितवन जान पाएनन्।
बुबाआमा भेट्न र पर्व मनाउन सधैँ चितवन जाने वर्षौँदेखिको निरन्तरता यसबर्ष रोकिएको बताए। उनले भने, ‘पहिलो कुरा त बाढीले पारेको बिचल्ली देखेर मन बेचैन भयो र जान मन लागेन। अर्को कुरा पृथ्वी राजमार्ग बिग्रिएका कारण पनि जान सकिएन।
यस वर्ष आज पूर्णिमाका दिन शुक्रबार परेकाले त्यसपछिको लगातार तीन दिन बिदा मनाएर सोमबार मात्र कार्यालय जाने योजनामा रहेका धेरै कर्मचारी तथा अन्य नागरिक घरबाट निस्कनै पाएनन्।
बुधबार बिहान ८ः४५ तिर चीनतर्फबाट लेन्दे खोलामा आएको बाढी रसुवागढी हुँदै नेपाल छिरेपछि त्यसले ल्याएको विपत्तिले देश शोकमग्न बनायो। उक्त विपत्तिपछि आज अपराह्नसम्म ५०० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने अरु सयौँ जना सम्पर्कविहीन छन्।
सो बाढीले रसुवाका रसुवागढी, स्याँफ्रुबेसी, टिमुरे हुँदै यता नुवाकोट जिल्लाका त्रिसूली, बेत्रावती, देवीघाट आदि स्थानमा रहेका बस्तीमा ठूलो क्षति पुर्याएको छ। यसबाट धेरै परिवार घरबारविहीन भए भने कैयौँ घाइते भएका छन्।
जनैपूर्णिको यो तिथि वैदिक सनातन धर्मावलम्बीहरू रसुवाको गोसाइँकुण्ड नुहाउन जाने समय पनि हो। यो याममा त्यहाँ लगभग देशैभरिका जिल्लाका नागरिक पुग्ने गर्दछन्। यही समय पारेर स्थानीय सङ्घसंस्था एवं तीर्थस्थलसँग सरोकार रहेकाहरूले गोसाइँकुण्डमा मेलाको पनि आयोजना गर्ने गर्दछन्।
यसकारण पनि त्यहाँ धेरैजना तीर्थयात्री एवं मेला भर्न जाने नागरिकहरू परेको अनुमान गरिएको छ। हिजोदेखि नै गोसाइँकुण्ड नुहाउन पुगेका नागरिकहरू हराएका सूचनाहरू आउन थालेका छन्। यसले पनि आजको पर्व देशैभरि खल्लो बनाएको छ।
उता, अर्को तीर्थस्थल मानसरोवर जाने याम पनि यही रहेको र पछिल्लो समय रसुवागढी हुँदै त्यसतर्फ जाने तीर्थयात्रीहरूको सङ्ख्या बढ्दै गएकाले उनीहरू पनि बाढीको चपेटामा परेका अनुमान गरिएको छ। यसरी गएका यात्रुहरू के कति मात्रामा थिए भन्ने कुराको जानकारी नभएको र समाचारमा आएअनुसार रसुवागढी क्षेत्रमा तथ्याङ्क राख्ने कार्यालय नै बाढीले बगाइ दिएकाले हराएका व्यक्तिको सङ्ख्या यकिन हुन सकेको छैन।
उक्त बाढीले अहिलेसम्म के कति भौतिक सम्पत्तिको क्षति पुर्यायो भन्ने तथ्याङ्क आइसकेको छैन। त्यस्तै मानवीय क्षतिको पनि अझै यकिन हुन सकेको छैन। उद्धारको काम जारी रहेकाले कतिपय अप्ठ्यारो अवस्थामा रहेका व्यक्तिलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिरहेका छन् भने अझै कतिजना हिलोमा पुरिएका तथा बगाएर अन्यत्र पुर्याएको अवस्थामा छन् भन्ने नै स्पष्ट छैन।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ र उता भोटेकोशीको बाढी नारायणीसम्म पुगेकाले चितवन जिल्लामा गरी नेपाली सेना तदारुकताका साथ उद्धारको काममा खटिरहेको जानकारी दिए। उनले भने, ‘नेपाली सेनाले सबैसँगको समन्वयमा बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्ति एवं घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार राहत सामग्री वितरणको काम गरिरहेको छ। नेपाली सेना बिहानैदेखि रातिसम्म नै उद्धार र राहतका लागि फिल्डमै खटिरहेको छ।’
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले प्रहरीले जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा लगेर राख्ने, विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै अवरोध रहेका मार्गहरू खुलाउने काम तदारुकताका साथ गरिरहेको जानकारी दिए।
प्रकाशित: १२ भाद्र २०८३ १८:०३ शुक्रबार



-600x400.jpg)