रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको अप्रत्याशित बाढीका कारण घरबारविहीन भएका प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ।
नान तथा विज्ञापन व्यवसायीहरूबाट संकलित रकमबाट खरिद गरिएका राहत सामग्री बालाजुमा आयोजित एक कार्यक्रमबीच विदुर नगरपालिका–७, तुप्चे, नुवाकोटका वडा अध्यक्ष रविन्द्र नेपालको संयोजकत्वमा कविन्द्र अधिकारी, बासु अधिकारी र सुदीप अधिकारीलाई हस्तान्तरण गरिएको हो।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै नानका अध्यक्ष प्रदीपप्रसाद कोइरालाले प्राकृतिक विपद्को यस कठिन समयमा पीडित नागरिकको घाउमा थोरै भए पनि मलम लगाउनु सामाजिक दायित्व भएको बताए। ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अध्यक्ष कोइरालाले आगामी दिनमा पनि नानले यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नानका संस्थापक अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अमृतकुमार पन्थी, कोषाध्यक्ष अरुण अर्याल तथा कार्यसमिति सदस्य अदिप पाठकलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
संघका तर्फबाट प्रभावित क्षेत्रका लागि १५० थान झुल, ६२० थान जुत्ता–चप्पल, १५० थान ब्ल्यांकेट तथा १५० थान भाँडाकुँडा (थाल, कचौरा र गिलास) हस्तान्तरण गरिएको छ।
राहत सामग्री बुझ्दै कविन्द्र अधिकारीले कठिन परिस्थितिमा विपद् पीडितहरूका लागि महत्त्वपूर्ण सहयोग पुर्याएकोमा राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) प्रति हार्दिक आभार व्यक्त गरे।
प्रकाशित: २६ भाद्र २०८३ १९:४४ शुक्रबार