अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध करिब १० करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन र ९ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले सोमबार नासु आचार्य, उनकी श्रीमती ललिता राजभण्डारी, दुई छोरी तथा अन्य दुई मतियारसहित ६ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन तथा सम्पत्ति शुद्धीकरण ऐनअनुसार आरोपपत्र दायर गरेको हो।
जिल्ला विकास समितिको कार्यालय खोटाङमा २०५४ माघ २ गते गाविस सचिव (रा.प.अनं. द्वितीय श्रेणी) बाट सरकारी सेवा सुरु गरेका आचार्यको २०८० मंसिर २१ सम्मको सम्पत्ति जाँच गर्दा वैध आयको तुलनामा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको स्रोत नखुलेको गैरकानूनी सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ।
जाँच अवधिमा उनको कुल वैधानिक आय ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ देखिएकोमा खर्च तथा लगानी भने १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ गरेको पाइएको छ।
आयभन्दा अत्यधिक खर्च र लगानी देखिएपछि आयोगले सो बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना र सम्पत्ति जफतको मागदाबी लिएको छ।
अख्तियारका अनुसार नासु आचार्यले भ्रष्टाचारबाट आर्जित ८ करोड २६ लाख २० हजार रुपैयाँलाई स्थापन (प्लेसमेन्ट), तहीकरण (लेयरिङ) र एकीकरण (इन्टिग्रेसन) जस्ता वित्तीय अपराधमार्फत ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ शुद्धीकरण गरेका छन्।
आयोगले उनीविरुद्ध ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सजाय तथा सम्पत्ति जफतको माग गरेको छ।
आचार्य बहालवाला राष्ट्रसेवक कर्मचारी भएकाले सोही ऐनबमोजिम हुने सजायमा थप १० प्रतिशत सजाय गर्नसमेत मागदाबी गरिएको छ।
अख्तियारले गैरकानूनी सम्पत्ति लुकाउन र शुद्धीकरण गर्न मतियार बनेको अभियोगमा आचार्यकी श्रीमती ललिता राजभण्डारीविरुद्ध पनि मुख्य कसुरदार सरह नै ९ करोड ७२ लाख ७१ हजार रुपैयाँ भ्रष्टाचारतर्फ र ९ करोड १९ लाख ८४ हजार रुपैयाँ सम्पत्ति शुद्धीकरणतर्फ बिगो कायम गरी सजाय तथा सम्पत्ति जफतको माग गरेको छ।
त्यस्तै, अवैध सम्पत्तिबाट खरिद गरिएका सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि आचार्यका दुई छोरीहरू निलु आचार्य र सरु आचार्यलाई पनि प्रतिवादी बनाइएको छ।
हलेसी डिपार्टमेन्ट स्टोरमा लगानी गरी मतियार बनेको ठहर गर्दै मध्यपुर थिमी नगरपालिका-२ की प्रभा बस्नेत र काठमाडौं-३२ की कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा सजाय मागदाबी लिइएको छ।
अख्तियारको अनुसन्धान चार्टअनुसार आचार्यले कालोधन लुकाउन काठमाडौं, भक्तपुर र मोरङका विभिन्न स्थानमा घरजग्गा कारोबार, सेयर लगानी, ऋण सापटी र व्यापारिक प्रतिष्ठानलाई माध्यम बनाएका थिए।
काठमाडौंको वडा नम्बर १० स्थित कित्ता नम्बर २२२ र वडा नम्बर ३२ स्थित कित्ता नम्बर १९४ को घरजग्गा खरिद-बिक्रीमा वास्तविक मूल्य लुकाएर लाखौं रुपैयाँ शुद्धीकरण गरिएको पाइएको छ।
यस्तै, भक्तपुरस्थित हलेसी डिपार्टमेन्ट स्टोर प्रा.लि.मा ४५ लाख लगानी गरी श्रीमती ललितालाई म्यानेजर पदमा नियुक्ति दिएको, जग्गा व्यवसायी भीमबहादुर राईलाई २ करोड ५१ लाख रुपैयाँ लगानी गरेको, तुलसीप्रसाद पोखरेल र लोकनाथ आचार्यलाई ऋण सापटी दिएर करोडौं रुपैयाँ बैंकिङ प्रणालीमार्फत वैध बनाउने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ।
भीष्म गड्तौलाको ब्रोकर खाता प्रयोग गरी दोस्रो बजारमा सेयर कारोबार गरेको तथा मोरङको जग्गा खरिदमा दुधकोशी बचत तथा ऋण सहकारीबाट ऋण लिएको झूटो विवरण सम्पत्ति विवरणमा पेस गरेकोसमेत अख्तियारको विस्तृत अनुसन्धानले पुष्टि गरेको छ।
प्रकाशित: १६ कार्तिक २०८३ २०:२८ सोमबार