नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा खसेको पहिरो पन्छाउने र सडक मर्मतको काम ६ दिन बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन। दिनको समयमा सडक रोक्दै पहिरो पन्छाउने काम भइरहेका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको छ।
उक्त खण्डमा बिहान ८:३० बजेदेखि बेलुकी ६ बजेसम्म प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्रै सवारी आवागमन खुला गर्ने गरिएको छ। दुई घण्टा सवारी रोकेर पहिरो पन्छाउने र त्यसपछि आधा घण्टा सडक खुलाएर सवारी पास गराउने तालिका मिलाइएको छ।
ड्युटीमा खटिएका प्रहरी अधिकारीका अनुसार दिनभर यही प्रक्रियाबाट सवारी सञ्चालन र मर्मतको काम सँगसँगै अघि बढाइएको छ। रातिको समयमा भने सडक निर्वाध चल्न दिइएको छ। बेलुकी ६ बजेदेखि बिहान ८ बजेसम्म सवारीसाधनहरू निरन्तर सञ्चालनमा रहने गरेका छन्।
दिनको समयमा लामो समय सडक रोकिँदा सवारीसाधनको चाप थेग्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ। मुग्लिनतर्फबाट आएका सवारीसाधनहरू इच्छाकामना गाउँपालिकाको शान्तिबजार क्षेत्रमा रोकिने गरेका छन्। सडक खुल्ने समयको प्रतीक्षामा सडकमा सवारीसाधनको किलोमिटरौँ लामो लाइन लाग्ने गरेको छ।
तुइनखोलाको अवरोधका कारण पोखरा तथा गण्डकी प्रदेशबाट काठमाडौं आउजाउ गर्ने यात्रुहरू सबैभन्दा बढी प्रभावित भएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि गण्डकी प्रदेशबाट संघीय राजधानी जाने सवारीसाधनले नारायणगढ-मुग्लिन हुँदै नारायणगढ, हेटौंडा भएर काठमाडौं पुग्ने घुमाउरो मार्ग प्रयोग गरिरहेका छन्।
वैकल्पिक मार्ग प्रयोग गर्दासमेत तुइनखोलाको जाममा घण्टौं फस्नुपर्ने बाध्यता छ।
प्रकाशित: २७ भाद्र २०८३ १८:१७ शनिबार