समाज

नागढुंगा-मुग्लिङ सडक विस्तार सुस्त : मनसुन सुरु हुँदा दुई खण्ड अलपत्र

फाइल तस्बिर

‘यो बिजुलीको पोल सार्ने कन्ट्र्याक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यहीं राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन।’ यो भनाइ पूर्वाधार विकासमन्त्री सुनील लम्सालले जेठ ३१ गते दिएका हुन्।

निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा सडकमा रहेको बिजुलीको पोल हटाउन भएको ढिलाइप्रति ठेकेदारसँग उनले यस्तो आक्रोश पोखेका थिए। सोही अभिव्यक्तिले मन्त्री लम्साल विवादमा पनि तानिए। तर मुलुकको राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाको निर्माण कार्य अझै अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा करिब ११ अर्ब ४३ करोड रुपैयाँ लागतमा विस्तार भइरहेको ९४.६६ किलोमिटर सडकमध्ये दुई खण्डमा भौतिक प्रगति आधाभन्दा कम छ। मनसुन सुरु भएसँगै निर्माणाधीन मुख्य राजमार्ग बाढी र पहिरोको थप चपेटामा पर्ने छ। त्यसले आमजनताकोे दैनिक जीवन कष्टकर मात्र बन्दैन, राजधानीसँगको सम्पर्कमा पनि समस्या आउन सक्छ।

आयोजनाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार नागढुंगादेखि मुग्लिनसम्मको सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहे पनि यो बर्खामा नागरिक कष्टकर यात्रा गर्न बाध्य हुने भएका छन्। तीन खण्डमध्ये पहिलो खण्ड नागढुंगा–नौबिसेमा उल्लेखनीय प्रगति देखिए पनि बाँकी दुई खण्डमा निर्माण कार्य निकै सुस्तगतिमा अघि बढेको छ। दुई खण्डको काम अझै मध्यम चरणमै सीमित छ।

नागढुंगा–नौबिसे खण्ड १२.२६ किलोमिटर लामो छ। यसको भने भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। जाङ्सु–सगुन जेभीले २०७८ चैत २९ गते ठेक्का सम्झौता गरेर २०७९ जेठ २६ गते काम सुरु गरेको थियो। करिब एक अर्ब ३० करोड रुपैयाँ लागत रहेको यस खण्डमा झ्याप्ले खोलाको पहिरो प्रभावित क्षेत्रबाहेक अधिकांश भागमा पहिलो तहको कालोपत्रे सकेको छ। खत्रीपौवा र नौबिसे क्षेत्रमा अपांगमैत्री आकासे पुल तथा अन्य संरचनाको काम अन्तिम चरणमा पुगेको छ। पहिरो नियन्त्रणका लागि झ्याप्ले खोलामा स्ल्याब स्टेबिलाइजेसनको काम अहिले भइरहेको छ।

तर सबैभन्दा लामो नौबिसे–मलेखु खण्डमा भने हालसम्म ४२ प्रतिशत मात्रै काम भएको छ। ४३.५४ किलोमिटर दुरी रहेको यो खण्ड २०७९ वैशाख १४ गते जेडआइसिजी, शर्मा र लामा जेभीले निर्माणको जिम्मेवारी लिएको थियो। पाँच अर्ब ३३ करोड १९ लाख रुपैयाँमा सम्झौता गरिएको यो खण्डमा धार्के बजारलगायत बढी सवारी चाप हुने क्षेत्रलाई प्राथमिकतामा राखेर कालोपत्रे भइरहेको ठेकेदार कम्पनीले दाबी गरेको छ। उकालो खण्डमा मालवाहक सवारीसाधनको सहज आवागमनका लागि छुट्टै क्लाइम्बिङ लेन निर्माण गरिएको पनि परियोजनाको दाबी छ। यस खण्डमा १३ पुल निर्माणाधीन रहेकामध्ये केही मात्रै सञ्चालनमा आएका छन्।

सोही राजमार्गअन्तर्गत रहेको तेस्रो खण्ड हो मलेखुदेखि मुग्लिङसम्म। जहाँ ३८.८६ किलोमिटर छ। २०७९ पुस १५ गते शर्मा–जेडआइसीजी जेभीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। अहिलेसम्म प्रगति ४३ प्रतिशत मात्र काम पूरा भएको यस खण्डमा कुरिनटार, फिस्लिङ, चारौंदी र विशालटार क्षेत्रमा कालोपत्रेको काम भइरहेको छ।

खहरे, चिराउदी, गोमती र हुग्दी खोलामाथि निर्माणाधीन चार पुलको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हस्तान्तरणको तयारी भइरहेको आयोजनाले जनाएको छ।

पूर्वसहमतिअनुसार काम ठेकेदार कम्पनीले काम गरेको भए नागढुंगा–नौबिसे १२.२६ किलोमिटर सडक जेठमै निर्माण सक्नुपर्ने थियो। त्यस्तै अहिलेसम्म आधाभन्दा कम काम भएको नौबिसे–मलेखु र नौबिसे–मलेखु खण्डको काम आगामी कात्तिकसम्ममा सक्नुपर्ने छ। तर आयोजनाका दुई प्रमुख खण्डमा अझै आधाभन्दा कम मत्रै काम हुँदा निर्धारित समयभित्र परियोजना पूरा हुनेमा आशंका उब्जिएको छ। दैनिक १३ हजारको हाराहारीमा सवारी साधान गुड्ने यो राजमार्ग समयमा निर्माण नहुँदा हजारौं नागरिक जोखिमपूर्ण यात्रा गर्न विवश छन्।

देशकै सबैभन्दा व्यस्त राजमार्गमध्ये पर्ने नागढुंगा–मुग्लिङ सडकखण्ड विस्तार सम्पन्न भएपछि यात्राको समय घट्ने, सडक सुरक्षा सुधार हुने तथा मालवाहक यातायात थप सहज हुने अपेक्षा गरिएको छ। तर मन्त्री लम्सालले विस्तारित राजमार्ग खण्डमा पर्ने बिजुलीका पोलहरू हटाउन निर्देशन दिए पनि अहिलेसम्म ठेकेदार कम्पनीले काम अघि बढाएको छैन। नेपाल विद्युत् प्राधिकरणले नै पोल हटाउन छुट्टै ठेक्का लगाउने गर्छ।

प्रकाशित: १६ असार २०८३ ०८:४१ मंगलबार