समाज

२७ वर्षीया महिलाको रहस्यमय मृत्यु, श्रीमान् नियन्त्रणमा

कालीकोटको नरहरिनाथ गाउँपालिका-३ कुमालगाउँमा एक महिलाको घरमै रहस्यमय मृत्यु भएको छ।

२७ वर्षीया मनपुरा अधिकारी बुढाको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी हिमबहादुर खत्रीले जानकारी दिएका छन्। प्रहरीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको छ।

प्रहरीले श्रीमान कासिराम बुढालाई नियन्त्रणमा लिएको छ। आइतबार राति श्रीमानको कुटपिटबाट मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। सोही कारण उनलाई नियन्त्रणमा लिएको हो। तर श्रीमानले आफूले अपराध नगरेको प्रारम्भिक सोधपुछमा जानकारी दिएका छन्।

उनका दुई छोरा र एक छोरी छन्। हाल घटनास्थलमा मुचुल्का उठाउने र प्रमाण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

श्रीमान्-श्रीमतीबिच केही समयदेखि पारिवारिक विवाद भइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष कटकबहादुर बुढाले बताए। प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र बनाएको जनाएको छ। प्रहरीले सोमबार बिहान ४ बजे मात्र खबर पाएको थियो।

प्रकाशित: १६ चैत्र २०८२ ११:४९ सोमबार