समाज

‘बालेन ब्राण्ड’ थपिएपछि खुल्ने मुस्ताङको सम्भावना

कुनै उत्पादनको विज्ञापनका लागि ठूलो बजेट, महँगा होर्डिङ बोर्ड र औपचारिक प्रचार अभियान नै आवश्यक हुन्छ भन्ने पुरानो मान्यता सामाजिक सञ्जालको युगमा फेरिँदै गएको छ।

कहिलेकाहीँ एउटा तस्बिर, एउटा छोटो भिडियो वा सार्वजनिक व्यक्तिको सामान्य प्रयोगले पनि कुनै उत्पादन, स्थान वा ब्रान्डलाई हजारौं-लाखौं मानिसको ध्यानमा पुर्‍याउन सक्छ। नेपालमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का पछिल्ला गतिविधिले यही सम्भावनालाई बहसको केन्द्रमा ल्याइदिएका छन्।

डीडीसीको याक चिज खाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसले राज्यको स्वामित्वमा रहेको पुरानो संस्थाको उत्पादनलाई एकाएक चर्चामा ल्यायो। ‘से चिज, डीडीसीको चिज’ भन्ने सन्देशसहितको उक्त पोस्ट २४ घण्टामै ४ लाख ६३ हजारभन्दा बढी लाइक, ४६ हजार कमेन्ट र ४ हजारभन्दा बढी सेयरमा पुगेको रिपोर्ट सार्वजनिक भएको थियो। त्यसपछि याक चिजको माग ३० प्रतिशतभन्दा बढी बढेको डीडीसीका अधिकारीले बताएका थिए।

यो केवल एउटा उत्पादनको बिक्री बढेको घटना होइन, राज्यले आफ्नै उत्पादनलाई कसरी ब्रान्ड बनाउन सक्छ भन्ने उदाहरण पनि हो। वर्षौंदेखि आर्थिक तथा व्यवस्थापकीय समस्यामा रहेको डीडीसीका लागि उक्त प्रचारले उपभोक्ताको ध्यान तानेको मात्र होइन, बजारमा उत्पादनको उपस्थितिबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ।

पछिल्ला विवरणअनुसार डीडीसीले याक चिजसहितका उत्पादनको बजार विस्तार र अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारीलाई समेत अघि बढाइरहेको छ।

याक चिजको कथा अझ रोचक छ। हिमाली क्षेत्रको परम्परा र पशुपालनसँग जोडिएको यो उत्पादन लामो समयसम्म सीमित उपभोक्तामा मात्र परिचित थियो। डीडीसीले वार्षिक ५५/६० टन याक चिज उत्पादन गर्दै आएको र करिब १० करोड रुपैयाँ आम्दानी हुने जनाएको छ।

पछिल्लो समय नेपालबाट चिजको निर्यातसमेत भइरहेको छ, तर ठूलो अन्तर्राष्ट्रिय बजार समात्न उत्पादन, प्रविधि र संरक्षण प्रणालीमा थप सुधार आवश्यक रहेको डीडीसीका अधिकारीको भनाइ छ।

अर्थात्, घाटामुखी वा कमजोर बजार व्यवस्थापनबाट गुज्रिएको राज्य संस्था पनि राम्रो उत्पादन, प्रभावकारी ब्रान्डिङ र बजारमुखी सोचका साथ निर्यातमुखी व्यवसायमा रूपान्तरण हुन सक्छ भन्ने सम्भावना यहाँ देखिन्छ।

डीडीसी आफैंले पनि विगतमा मार्केटिङमा कमजोर रहेको स्वीकार गर्दै विज्ञापन, डिजिटल अभियान र नयाँ ढंगको ब्रान्डिङमा जोड दिने तयारी गरेको छ।

गोल्डस्टारले देखाएको अर्को पाठ

बालेनको प्रभाव डीडीसीको चिजमा मात्र रोकिएन। संसद्‌मा बजेट प्रस्तुतिपछि प्रधानमन्त्रीले लगाएको गोल्डस्टारको ‘आर्क सिरिज’ जुत्ता सामाजिक सञ्जालमा ‘बालेन जुत्ता’ का रूपमा चर्चामा आयो। करिब १ हजार ५ सय रुपैयाँ मूल्य पर्ने उक्त जुत्ता खोज्दै ग्राहक पसल पुग्न थालेका र कम्पनीको सेतो स्निकरको स्टक सकिएको गोल्डस्टारका प्रतिनिधिले बताएका छन्।

यसको प्रभाव एउटा कम्पनीभन्दा पर पुग्यो। नेपाली फुटवेयर क्षेत्रका उद्यमीहरूले प्रधानमन्त्रीले स्वदेशी ब्रान्ड प्रयोग गर्दा अन्य नेपाली जुत्ता ब्रान्डको दृश्यता र बिक्रीमा समेत सकारात्मक प्रभाव परेको बताएका छन्।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालबाट जुत्ता–चप्पलको निर्यात ६९.७९ प्रतिशतले बढेर २ अर्ब ५५ करोड रुपैयाँ पुगेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकसमेत सार्वजनिक भएको छ।

यसले ब्रान्डिङ भनेको विज्ञापन मात्र होइन, विश्वासको सार्वजनिक प्रदर्शन पनि हो। देशको प्रधानमन्त्रीले नेपाली जुत्ता लगाउँदा ‘मेड इन नेपाल’ सामान्य उपभोक्ताको रोजाइको विषय बन्छ भने राज्यको संस्थाले उत्पादन गरेको चिज खाँदा हिमाली उत्पादनको कथा सहरी उपभोक्तासम्म पुग्छ।

प्राकृतिक सम्पदा पनि ‘उत्पादन’ नै हो

यही सूत्र पर्यटनमा लागू गर्ने हो भने नेपालको सम्भावना अझ ठूलो छ। नेपालसँग हिमाल, ताल, वन्यजन्तु, पदमार्ग, संस्कृति, मौलिक बस्ती, खानपान र साहसिक पर्यटनका असंख्य उत्पादन छन्। तर, धेरै ठाउँको समस्या सम्पदा नभएको होइन, सम्पदाको कथा विश्वसामु प्रभावकारी ढंगले सुनाउन नसक्नु हो।

नेपाल पर्यटन बोर्डले विगतमा ‘ब्रान्ड नेपाल’ मार्फत नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स’ को गन्तव्यका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको थियो। पछिल्ला अन्तर्राष्ट्रिय पर्यटन अभियानमा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिलाई नेपालका विभिन्न गन्तव्यमा लगेर उनीहरूबाट डिजिटल सामग्री निर्माण गराइएको थियो।

२०२३ को पहिलो चरणमा ११ जना इन्फ्लुएन्सरले नेपालका प्रमुख पर्यटकीय गन्तव्य भ्रमण गरी १५ करोड डिजिटल इम्प्रेसन सिर्जना गरेको पर्यटन बोर्डले जनाएको थियो।

यसले पर्यटन प्रवर्द्धनको बदलिँदो शैली देखाउँछ। पहिले गन्तव्यको तस्बिर पुस्तिका वा विज्ञापनमा देखाइन्थ्यो; अहिले गन्तव्यमा पुगेको व्यक्तिको अनुभव नै विज्ञापन बन्न सक्छ।

बालेनले आफ्ना सामाजिक सञ्जालमा नेपालको प्राकृतिक सम्पदा र पर्यटन सम्भावनासँग जोडिएका दृश्य वा सामग्री सार्वजनिक गर्दा पनि यही प्रभाव देखिन सक्छ। प्रधानमन्त्रीको आधिकारिक पर्यटन अभियान नभए पनि उनको ठूलो डिजिटल पहुँचले कुनै ठाउँ वा दृश्यलाई तत्काल राष्ट्रिय चर्चामा ल्याउने क्षमता राख्छ। त्यसैले राज्यका तर्फबाट हुने ब्रान्डिङमा यस्ता प्रभावशाली सार्वजनिक व्यक्तित्वको पहुँचलाई योजनाबद्ध ढंगले उपयोग गर्न सकिने ठाउँ प्रशस्त छ।

अब मुस्ताङको पालो ?

यही पृष्ठभूमिमा प्रधानमन्त्री बालेन्द्र शाहको अहिले सुरु भएको मुस्ताङ भ्रमणले अर्को सम्भावना देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शाहको पोखरा हुँदै मुस्ताङ भ्रमण निजी भ्रमण भएको बताएको छ। शुक्रबार पोखरा पुगेका शाह शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको समाचार सार्वजनिक भएका छन्।

यो भ्रमणलाई सरकारी पर्यटन अभियान भन्न मिल्दैन। तर प्रधानमन्त्री जहाँ पुग्छन्, त्यो ठाउँ आफैँमा एउटा सञ्चार घटना बन्ने अवस्थामा उनको निजी भ्रमणले पनि पर्यटन प्रवर्द्धनमा कति प्रभाव पार्न सक्छ ?

मुस्ताङका लागि यसको सम्भावना ठूलो छ। जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङ, मार्फा, थाकाली संस्कृति, कालीगण्डकी उपत्यका, हिमाली भूगोल र विशिष्ट जीवनशैली आफैंमा अन्तर्राष्ट्रिय पर्यटन ब्रान्ड बन्न सक्ने सामग्री हुन्।

यिनलाई प्रधानमन्त्रीको यात्रा, यात्राका दृश्य, स्थानीय उत्पादन, स्थानीय मानिसको जीवन र मौलिक संस्कृतिसँग जोडेर सामाजिक सञ्जालमा प्रस्तुत गर्न सकियो भने त्यसको पहुँच परम्परागत पर्यटन विज्ञापनभन्दा निकै फराकिलो हुन सक्छ।

तर यहाँ सावधानी पनि आवश्यक छ। कुनै व्यक्ति लोकप्रिय भएकै कारण कुनै ठाउँ स्वतः पर्यटन गन्तव्य बन्दैन। पर्यटक पुगेपछि बस्ने ठाउँ, बाटो, सरसफाइ, सुरक्षा, इन्टरनेट, स्वास्थ्य सेवा, स्थानीय गाइड, मूल्य पारदर्शिता र वातावरणीय संरक्षणजस्ता आधारभूत पूर्वाधार पनि उत्तिकै आवश्यक हुन्छन्।

त्यसैले ‘बालेन ब्रान्ड’ लाई पर्यटनको एक्लो आधार बनाउने होइन, बालेनको पहुँचलाई नेपालको व्यवस्थित पर्यटन ब्रान्डिङको एउटा माध्यम बनाउने हो।

प्रधानमन्त्रीको पोस्टभन्दा ठूलो राज्यको रणनीति

विश्वभर सार्वजनिक व्यक्तित्वको लोकप्रियता ब्रान्ड निर्माणमा प्रयोग हुँदै आएको छ। खेलाडी, कलाकार वा राष्ट्रप्रमुखले प्रयोग गर्ने वस्तु, जाने स्थान वा अपनाउने जीवनशैलीले उपभोक्ताको धारणा प्रभावित गर्ने अभ्यास नयाँ होइन। सामाजिक सञ्जालले यसको प्रभाव झन् तीव्र बनाएको छ। कुनै प्रभावशाली व्यक्तिको एउटा पोस्टले लाखौं मानिससम्म क्षणभरमै पहुँच पुर्‍याउन सक्छ।

नेपालले पनि यसलाई केवल संयोगका रूपमा होइन, राष्ट्रिय ब्रान्डिङ रणनीतिको हिस्साका रूपमा हेर्न सक्छ।

प्रधानमन्त्रीले नेपाली जुत्ता लगाउने, सरकारी संस्थाको उत्पादन प्रयोग गर्ने, नेपाली खाना खाने, नेपालका पर्यटकीय गन्तव्य भ्रमण गर्ने वा प्राकृतिक सम्पदाका तस्बिर सार्वजनिक गर्ने कामलाई व्यक्तिगत रोजाइको सीमामा नराखी स्वदेशी उत्पादन र पर्यटन प्रवर्द्धनसँग जोड्ने वातावरण बनाउन सकिन्छ।

यसका लागि सरकारले नेपाली उत्पादनको गुणस्तर सुधार, प्याकेजिङ, निर्यात प्रमाणीकरण, डिजिटल मार्केटिङ, पर्यटन पूर्वाधार र अन्तर्राष्ट्रिय वितरण सञ्जालमा लगानी गर्नुपर्छ। ब्रान्डिङले माग सिर्जना गर्छ; उत्पादन क्षमता र गुणस्तरले त्यो मागलाई व्यवसायमा बदल्छ।

डीडीसीको चिजमा माग बढ्यो तर उत्पादन र आपूर्तिको चुनौती छ। गोल्डस्टारमा चर्चा बढ्यो तर कच्चा पदार्थ, चोरीपैठारी र प्रतिस्पर्धाका प्रश्न बाँकी छन्। मुस्ताङमा पर्यटकको चासो बढ्यो भने त्यहाँको वातावरण, पूर्वाधार र स्थानीय अर्थतन्त्रले त्यसलाई धान्न सक्नुपर्छ।

‘बालेन ब्रान्ड’ को अर्थ व्यक्ति होइन, प्रभाव हो

त्यसैले ‘बालेन ब्रान्ड’ भन्नाले बालेन स्वयंलाई उत्पादन वा पर्यटन गन्तव्यको ब्रान्ड बनाउनु होइन। उनको लोकप्रियता, सामाजिक सञ्जालको पहुँच र सार्वजनिक व्यवहारले सिर्जना गर्न सक्ने प्रभावलाई नेपाली उत्पादन र नेपाली गन्तव्यको पक्षमा प्रयोग गर्नु हो।

डीडीसीको चिजले एउटा सम्भावना देखायो। गोल्डस्टारले त्यसलाई थप पुष्टि गर्‍यो। अब मुस्ताङले त्यसको पर्यटन संस्करण देखाउन सक्छ।

यदि एउटा साधारण तस्बिरले वर्षौँदेखि बजारमा संघर्ष गरिरहेको याक चिजलाई उपभोक्ताको खोजीमा पुर्‍याउन सक्छ भने नेपालको हिमाल, हिमाली संस्कृति र प्राकृतिक सम्पदाको कथा संसारभर पुर्‍याउन सकिने सम्भावना कति ठूलो होला ?

मुस्ताङको यात्राले त्यसको उत्तर दिन सक्छ। तर त्यसका लागि बालेनको लोकप्रियताभन्दा पनि नेपालको ब्रान्डिङ क्षमता जाग्नुपर्छ। व्यक्ति आउने-जाने हुन्छन्, सामाजिक सञ्जालको ट्रेन्ड फेरिन्छ; तर नेपालका हिमाल, संस्कृति, प्रकृति र मौलिक उत्पादन स्थायी सम्पत्ति हुन्।

अब तिनलाई ‘देखिने’ मात्र होइन, किन्ने, घुम्ने, अनुभव गर्ने र विश्व बजारमा खोजिने ब्रान्ड बनाउने बेला हो।

प्रकाशित: ६ भाद्र २०८३ १३:३४ शनिबार