समाज

मुगु दुर्घटना : दुई गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मुगुमा भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिने भएको छ। उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग माग गरेको छ।

आइतबार दिउँसो करिब ४ बजे छायाँनाथ रारा नगरपालिका ७ स्थित जिरो प्वाइन्ट नजिक पिकअप भ्यान दुर्घटनामा परेको थियो। सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा.१ ज.प. १८६४ नम्बरको भ्यान रारा जाने कच्ची सडकखण्डबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन्।  

मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षिय पूर्णबहादुर थापाको रहेका छन्।

त्यस्तै, ललितपुरकी ५४ वर्षीय अञ्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइतेकाे अवस्था गम्भीर भएकाले घाइतेहरूलाई थप उपचारका लागि गृह मन्त्रालयलाई पत्र पठाएको डिएसपी रविराज थपलियाले बताए।

घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल रेफर गरिएको जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ।

प्रकाशित: ३० कार्तिक २०८३ ०९:३७ सोमबार