समाज

म्याद सकिएको एक वर्ष बित्दासमेत मुग्लिन-मलेखु सडकको आधा काम बाँकी

पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डको तेस्रो प्याकेजअन्तर्गत पर्ने मुग्लिन-मलेखु सडक विस्तारको सम्झौता अवधि सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन।

गत पुस १५ गते सम्पन्न गर्ने गरी त्यसको तीन वर्षअघि २०७९ पुस १५ गते उक्त सडक विस्तारको ठेक्का लगाइएको थियो। दुई पटक म्याद थप गर्दासमेत हालसम्म भुक्तानी प्रगति ४६ प्रतिशत मात्र भएको छ।

आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार भौतिक प्रगति ४८ प्रतिशत हाराहारी पुगेको छ। पहिलोपटक थप गरिएको १८३ दिनको म्याद सकिएर पुनः दोस्रो पटक २१० दिन म्याद थप गरिएको उनले बताए। थपिएको अवधिमा पनि काम नसकिने भएकाले पुनः म्याद थप्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

करिब ९५ किलोमिटर दूरी रहेको उक्त राजमार्गलाई पहिलो प्याकेजमा नागढुंगा-नौबिसे, दोस्रोमा नौबिसे-मलेखु र तेस्रोमा मलेखु-मुग्लिन खण्डमा छुट्याएर स्तरोन्नतिको काम अघि बढाइएको थियो।

तेस्रो प्याकेजअन्तर्गतको मलेखु-मुग्लिन सडक ३८ दशमलव ८६ किलोमिटर लामो छ। मिश्रका अनुसार हालसम्म १५ किलोमिटर कालोपत्र सम्पन्न भएको छ भने तीन किलोमिटरमा बेस राखेर कालोपत्रको तयारी गरिएको छ। अरू पाँच किलोमिटरमा सबबेस राखिएको छ।

सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ। बारवाङ, मौवा, गौमती र खटौती पुलको आंशिक काम मात्र बाँकी रहेको र ती पुल तथा सडक जोड्ने ठाउँमा कालोपत्र मात्र गर्न बाँकी रहेको उनले जानकारी दिए।

अरू दुई वटा पुल हुग्दी र चरौदीको पिल्लरसम्मको काम सकिएको छ भने बिम र त्यसभन्दा माथिको काम बाँकी छ। कुरिनटार र मुग्लिनको बीचभागमा भित्तो काट्ने काम केही बाँकी रहेको, तीन किलोमिटर हाराहारी नाला बनाउन र अरू सबै खण्डमा कालोपत्रको काम बाँकी रहेको जनाइएको छ।

मिश्रका अनुसार सडक क्षेत्रमा रहेका घर, रुख र पोल स्थानान्तरणसहित नक्सांकनमा परिवर्तन हुँदा काममा ढिलाइ भएको हो। अब ती सबै समस्या समाधान भएकाले निर्माण कम्पनीका तर्फबाट तीव्र गतिमा काम हुने अपेक्षा गरिएको छ। यसअघि समय-समयमा निर्माण सामग्री नपाउँदा समस्या हुने गरेको र पछिल्लो समय बिटुमिनको अभावले पनि काममा ढिलाइ भएको उनले जानकारी दिए।

निर्माण कम्पनीका सहदेव खड्काका अनुसार समयमा नक्सा नआउँदा काममा ढिलाइ भएको हो। नक्सा परिवर्तन भएर ठेक्का लागेको नौ महिनापछि मात्र निर्माण कम्पनीले पाएको उनले बताए। यस्तै, समय-समयमा आएको बाढीपहिरोका कारण पुनः नक्सा परिवर्तन भएर आउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

नक्सासँगै बाढी, पहिरो, सडकमा रहेका घरटहरा हट्न समय लागेको, बिजुलीको पोल सार्न र रुख काट्न समय लागेकाले सम्झौताको मितिमा काम गर्न नसकिएको खड्काले जनाए।

निर्माण सामग्री र अलकत्रा पाउन नसक्दा पनि ढिलाइ भएको उल्लेख गर्दै उनले समयमा नक्सा र निर्माण सामग्री पाएमा अबको एक वर्ष छ महिनाभित्र काम सकिने बताए।

कुल चार अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा काम सम्पन्न गर्ने प्रतिबद्धतासहित शर्मा-जेडआइसिजीले निर्माणको जिम्मा पाएको थियो।

विश्व बैंकको सहुलियतपूर्ण ऋणमा अघि बढेको यो आयोजना राजधानी प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको उच्च चाप रहने सडक हो।

यस सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारीसाधन आवतजावत गर्ने अनुमान छ। सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश गर्ने र बाहिरिने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्ति पाउनेछन्।

प्रकाशित: १० मंसिर २०८३ २०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App