साउनको पहिलो साताको काठमाडौं। आकाशमा सेता बादलका टुक्रा छरिएका छन्। प्रायः हरेक दिन पानी पर्ने मौसम भए पनि घाम लागेका दिन राजधानीको ताप उत्तिकै चर्को हुन्छ। माइतीघर मण्डलको व्यस्त सडकमा सवारीसाधनको निरन्तर आवतजावत छ, हर्नको आवाज सुनिन्छ, मानिसहरूको भीड उस्तै छ। तर, यही सडक किनारमा त्रिपाल ओछ्याएर बसेका केही अनुहारका लागि मौसमको परिवर्तनभन्दा ठूलो प्रश्न एउटै छ: ‘न्याय कहिले पाइन्छ?’
नेपालमा नागरिक आन्दोलनको प्रमुख प्रतीक मानिने माइतीघर मण्डल यतिबेला विभिन्न पीडा, अन्याय र संघर्षका आवाजले भरिएको छ। कसैले ‘सरकार, कोठा खाली छ?’, कसैले ‘एकल महिलाले न्याय कहिले पाउने?’, त कसैले ‘उमा महतोलाई सामाजिक न्याय देऊ’ लेखिएका ब्यानर बोकेर आन्दोलन गरिरहेका छन्। कोही तीन महिनादेखि, कोही डेढ महिनादेखि त कोही सय दिनभन्दा बढी समयदेखि यही सडकमा रातदिन बिताइरहेका छन्।
स्थानीय तहदेखि मन्त्रालय, प्रहरी कार्यालयदेखि अदालतसम्म धाउँदा पनि न्याय नपाएको उनीहरूको साझा गुनासो छ।
१११ दिनदेखि न्यायको खोजीमा भागनारायण महतो
सर्लाहीको बरहथवा नगरपालिका–९ का भागनारायण महतो विगत १११ दिनदेखि माइतीघरमा धर्नामा छन्। आफू मिटरब्याज, ठगी र भूमाफियाको जालसाजीको सिकार बनेको उनको आरोप छ।
उनका अनुसार डेढ लाख रुपैयाँ ऋण लिएको आधारमा फर्जी कागजात तयार गरी १० लाख रुपैयाँ ऋण देखाइयो। त्यसपछि मालपोत कार्यालयको मिलेमतोमा दोहोरो लालपुर्जा बनाएर आफ्नो घरजग्गा अर्कैको नाममा सारिएको उनी बताउँछन्।
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, मिटरब्याज पीडितसम्बन्धी समिति, गृह मन्त्रालयलगायत विभिन्न निकायमा धाउँदा पनि दोषीमाथि कारबाही नभएको उनको गुनासो छ।
महतोका अनुसार बरहथवा नगरपालिका–९ की निर्मला पन्त मैनालीले मिटरब्याज कारोबार गरेकी हुन्। उनी दोहोरो लालपुर्जाको निष्पक्ष छानबिन, मालपोतका संलग्न कर्मचारीमाथि अनुसन्धान, सम्पत्तिको छानबिन, दोषीमाथि फौजदारी कारबाही तथा आफ्नो सम्पत्ति फिर्ता हुनुपर्ने मागसहित आन्दोलनमा छन्।
दुर्घटनापछि उपचार नपाएर सडकमै संघर्ष गरिरहेकी देविका
सुनसरीको इटहरी उपमहानगरपालिका–४ की देविका खनाल विगत तीन महिनादेखि आफ्नी १३ वर्षीया छोरीसँग माइतीघरको सडकमै बसिरहेकी छन्।
उनका अनुसार २०८१ फागुन २२ गते रामधुनी नगरपालिका–३ मा भएको सडक दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन्। दुर्घटना इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाले गराएर फरार भएको उनको आरोप छ।
दुर्घटनापछि उनको दाहिने कम्मरमुनिको भाग चल्न छाडेको छ। घाउ अझै निको नभएकाले त्यसबाट रगत र पिप निरन्तर बगिरहेको उनी बताउँछिन्।
चार पटक शल्यक्रिया भइसकेको र शरीरमा स्टिल राखिएको भए पनि आर्थिक अभावका कारण उपचार बीचमै रोकिएको उनको भनाइ छ।
देविका भन्छिन्, ‘नयाँ सरकार बनेपछि गृहमन्त्रीसँग भेट्दा न्याय र उपचारको आश्वासन पाएको थिएँ। तर त्यसपछि कुनै ठोस पहल भएको छैन। चारवटा अप्रेसन गराएँ, अहिले मलम किन्ने पैसासमेत छैन। औषधि नपाउँदा घाउ पाकिरहेको छ। न्याय कहिले पाइन्छ भन्ने पनि थाहा छैन।
’
चार महिनाको छोराको कानुनी पहिचानका लागि आमाको संघर्ष
जाजरकोटकी सर्मिला शाही आफ्ना चार महिनाका छोराको जन्मदर्ता र कानुनी पहिचान सुनिश्चित गरिदिन माग गर्दै माइतीघरमा आन्दोलनरत छिन्।
उनले सर्वोच्च अदालतमा कार्यरत प्रहरी जवान भुपेन्द्र सिंह ठकुन्नाबाट शरीर बन्धक तथा जबर्जस्ती करणीमा परेको आरोप लगाएकी छन्। सो घटनापछि जन्मिएको बच्चाको भविष्यलाई लिएर आफू चिन्तित रहेको उनको भनाइ छ।
उनका अनुसार मुद्दा अदालतमा विचाराधीन रहे पनि प्रतिवादीलाई अदालतमा उपस्थित गराइएको छैन। साथै, बच्चाको जन्मदर्ता बनाउनसमेत आवश्यक पहल नभएको भन्दै उनी धर्नामा बसेकी हुन्।
उनले भनिन्, ‘बाबुको जन्मदर्ता नबने भोलि उसको नागरिकता र भविष्य के हुन्छ? बच्चा जन्माउनु मात्रै ठूलो कुरा होइन। अदालतमा मेरो मुद्दाको लाइभ बहस होस् र बाबुको जन्मदर्ता बनोस्, मलाई यति भए पुग्छ।’
काठमाडौंमा बस्ने कोठासमेत नभएकाले सडकमै रात बिताइरहेकी शाही आफू शरीर बन्धक तथा जबर्जस्ती करणीसम्बन्धी मुद्दाकी पीडित भएको बताउँछिन्।
उनका अनुसार आरोपित व्यक्ति प्रहरीसँग आबद्ध भएकै कारण समयमै न्याय नपाएको अनुभव छ। मुद्दामा आठ वटा पेसी बितिसक्दा पनि प्रतिवादी नियमित अदालतमा उपस्थित नभएको र बच्चाको कानुनी पहिचान अझै अन्योलमै रहेको उनको गुनासो छ।
‘जातका कारण कोठा नपाउने’ विभेदविरुद्ध ९७ दिनदेखि आन्दोलन
दीपा नेपाली जातीय आधारमा घर भाडामा लिन नपाएको भन्दै वैशाख ६ गतेदेखि माइतीघरमा धर्नामा बसिरहेकी छन्। बिहीबारसम्म उनको आन्दोलन ९७ दिन पुगेको छ।
उनको माग जातका आधारमा घर भाडा दिन अस्वीकार गर्ने प्रवृत्तिविरुद्ध कडा कानुनी व्यवस्था गरियोस् र दलित समुदायमाथि हुने आवासीय विभेद अन्त्य गरियोस् भन्ने हो।
उनका अनुसार तत्कालीन गृहमन्त्री स्वयं धर्नास्थलमा पुगेर समस्या समाधान गर्ने आश्वासन दिएका थिए। तर हालसम्म त्यसबारे कुनै ठोस निर्णय हुन सकेको छैन।
माइतीघर : आन्दोलनको थलो मात्र होइन, न्यायको प्रतीक्षामा बसेका नागरिकहरूको ऐना
भागनारायण महतो, देविका खनाल, सर्मिला शाही र दीपा नेपालीका कथा माइतीघरका प्रतिनिधि घटनामात्र हुन्। यहाँ अझै दर्जनौँ नागरिक विभिन्न कारणले न्यायको खोजीमा धर्ना दिइरहेका छन्। कसैले सम्पत्ति फिर्ताको माग गरेका छन्, कसैले उपचार, कसैले कानुनी पहिचान, त कसैले सामाजिक समानताको।
माइतीघर मण्डल आज केवल आन्दोलन गर्ने स्थान मात्र होइन, राज्यबाट न्यायको अपेक्षा राखेका नागरिकको पीडा, निराशा र आशाको ऐना बनेर उभिएको छ। यहाँ दिन बितिरहेका छन्, मौसम फेरिइरहेका छन्, सरकार बदलिएका छन्, तर न्यायको भिख माग्दै सडकमा बसेकाले सरकार पुकार्दै सधैँ प्रश्न गर्छन्- हामीले न्याय पाउने कहिले ?
प्रकाशित: ८ श्रावण २०८३ १९:५९ शुक्रबार