समाज

एक्लो छोरा सम्पर्कविहीन हुँदा विक्षिप्त छिन् आमा

कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं ५ कृष्णपुरका नेपाली सेनामा कार्यरत रमेशराज जोशी रसुवा बाढी परेर सम्पर्कविहीन छन्।

बुढेसकालको एक्लो छोरा रमेश सम्पर्कविहीन भएको खबर सुनेदेखि आमा बेलुदेवी जोशीको आँखा ओभाएका छैनन्। बाढी आएको दिन घर्किँदै जाँदा उनको बेचैनी र छटपटी पनि बढ्दै गएको छ।

छोरालाई सम्झेर रुदाँ रुदाँ उनी विक्षिप्त बनेकी छिन् । छोराको सम्झनामा उनी ‘मेरो छोरा खै भन्दै भक्कानिइरहन्छिन्।

सुरुका दिनहरूमा उनले छोरा सकुशल फर्केर आउने आशा गरेकी थिइन्। जति जति दिनहरू बित्दै गईरेहका छन्, त्यति त्यति उनको आशाको त्यान्द्रो पनि पातलो हुँदै गइरहेको छ।

जोशी विगत १४ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए। नेपाली सेना रसुवामा कार्यरत जोशी लेस नायक थिए। बाढी आएको दिन देखि उनी सम्पर्कविहीन भएका हुन्।

बाढी आउनुभन्दा अघिल्लो दिन भदौ ९ गते फोनमा कुराकानी गरेको रमेशकी श्रीमती लक्ष्मी जोशीले बताइन्। १० भदौको दिउँसोसम्म घण्टी गइरहेको फोन पछि स्विच अफ भएको थियो।

यतिका दिन सम्म छोराको बारेमा कुनै खबर नदिएकोमा परिवारजनको गुनासो छ। छिटो छोराको अवस्था जानकारी दिन उनले सरकारसँग आग्रह गरेकी छन्।

यसैगरी कृष्णपुर वडा नं ४का सुरतबहादुर पाल र जानकी पालका एक्ला छोरा हिक्मत बहादुर पाल पनि भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन छन्।

२४ वर्षिय हिक्मत नेपाली सेना टिमुरेमा कार्यरत थिए। छोरा सम्पर्कविहीन भएको खबर सुनेदेखि उनकी आमा जानकीका आँखा पनि ओभाएका छैनन्।

एक्लो छोरालाई सम्झेर उनलाई पिरोलिरहेको छ। यतीका दिन सम्म छोराको कुनै अत्तोपत्तो नलाग्दा उनी सम्हालिन सकेकी छैनन्। यतीका दिन सम्म छोराको कुनै पत्तो नलागेपछि उनको बेचैनी र तनाव बढ्दै गएको छ।

‘बुढेसकालको सहारा एक्लो छोरा सम्पर्कविहीन भएको खबर सुनेदेखि उसको आमालाई सम्हाल्न नै गाह्रो भाछ’हिक्मतका बुबा सुरतबहादुरले भने ‘बुढेसकालको सहारा एक्लो छोरा बेपत्ता भएको खबरसँगै घरपरिवार नै अन्धकार जस्तो भएको छ’। 

सम्पर्कविहीन भएको खबर सुन्ने बित्तिकै बुबा सुरतबहादुर छोराको खोजीमा सवैतिर धाए। तर कतै पनि छोराको बारेमा कुनै सुईको पाएनन्।

सुरुमा नेपाली सेनाको तेघरीस्थित जंगी अड्डामा गएर पृतनापतिसँग भेटेर छोराको अवस्थाबारे बुझे। त्यसपछि चितवन र काठमाडौंका अस्पताल, अस्पताल पुगेर छोरालाई खोजे।

अस्पतालमा घाइते र शव भएको ठाउँमा हेरे। कतै पनि छोरा भेटेनन्। ‘चितवन र काठमाडौंका सबै अस्पताल पुगे, तैपनि छोराको पत्तो लागेन,’उनले भने।

छोराको बारेमा कुनै खबर नआउदँ उनीहरूको पिडा र चिन्ता बढ्दै गइरहेको छ। देशको सेवा गर्ने सपना छ भन्दै दुई वर्ष अघि मात्रै छोरा नेपाली सेनामा जागिर सुरु गरेको उनले बताए।

उनको छोराको सपना देशको सेवा गर्ने थियो। सुरत र जानकीको जीवनको सपना एक्लो छोरा हिक्मत थियो। १५, १६ दिन देखि सम्पर्कविहीन हिक्मतको कुनै पत्तो नलाग्दा छोराको सपनासँगै उनीहरूको सपनामा पनि कालो बादल मडारिएको छ।

प्रकाशित: २५ भाद्र २०८३ १८:०६ बिहीबार