दाङका रोमहर्श कालाथोकी परिवारको भविष्यका लागि मलेसियामा काम गरिरहेका थिए।
तर काठमाडौंमा रहेका २२ वर्षीय जेठो छोरा वसन्त कालाथोकीको मृत्युको खबरले उनको परिवारमा ठुलो बज्रपात परेको छ। छोराको मृत्युको खबर सुनेपछि दाङमा रहेकी उनकी ३८ वर्षीया पत्नी बिना कालाथोकीको पनि मृत्यु भएको छ।
जानकारी अनुसार वसन्त काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टेलमा बसेर भाषा अध्ययन गरिरहेका थिए। शुक्रबार होस्टेलमै बस्ने युवाहरूसँग विवाद भएपछि कुटपिट भएको र त्यस क्रममा धारिलो हतियार तथा लाठी प्रहारबाट उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा वसन्तको बानेश्वरस्थित निजामती अस्पतालमा मृत्यु भएको हो।
वसन्तको मृत्युको खबर दाङस्थित परिवारसम्म पुगेपछि उनकी आमा बिनाले पनि ज्यान दिइन्। घोराही उपमहानगरपालिका-१७ का वडाध्यक्ष राम लौटन चौधरीले छोराको मृत्युको खबर सुनेपछि बिनाले आत्महत्या गरेको जानकारी गराए।
‘काठमाडौंमा साथी-साथीबिच झगडा भएर कुटाकुट हुँदा छोरा मरेको भन्ने खबर सुनाएछन्। त्यो खबर सुनेपछि असह्य भएर आमाले आत्महत्या गरिछन्,’ चौधरीले नागरिकन्युजसँग भने। ‘आमालाई त्यस्तो खबर नसुनाइदिए पनि हुन्थ्यो, सुनाइदिएछन्। त्यो सुनाएपछि असह्य भएर उनी झुण्डिएर मरिछन्,’ चौधरीले थपे।
चौधरीका अनुसार रोमहर्श र बिनाका दुई छोरा छन्। जेठो छोरा वसन्तको काठमाडौंमा मृत्यु भएको हो भने कान्छा छोरा शिशिर कालाथोकी ११ वर्षका छन्। शिशिर आमासँगै दाङमा थिए। बुबा रोमहर्श भने मलेसियामा रहेका कारण अहिले परिवारमा अर्को कठिन अवस्था सिर्जना भएको छ। छोराको मृत्यु र त्यसपछि पत्नीको मृत्युको खबर पाएपछि उनी नेपाल फर्किँदैछन्।
वडाध्यक्ष चौधरीका अनुसार रोमहर्श मलेसियाबाट नेपाल फर्किएपछि मात्रै दुवै शवको अन्त्येष्टि गर्ने तयारी छ। ‘यहाँ कोही अब छैन। त्यो ११ वर्षको केटाले गर्ने कुरा भएन। त्यसैले श्रीमान् आएपछि अन्त्येष्टि गर्ने हो,’ उनले भने।
वसन्त विदेश जाने तयारीमा रहेको भन्ने विषय बाहिर आए पनि आफूलाई त्यसबारे स्पष्ट जानकारी नभएको चौधरीले बताए। ‘छोरा बाहिर पढ्न जाने भनेर पनि आइरहेको छ’ भन्ने प्रश्नमा उनले ‘त्यो तयारी त थाहा भएन,’ भने।
यता, वसन्तको मृत्यु भएको घटनामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनामा संलग्न व्यक्तिहरू नियन्त्रणमा आइसकेको बताए।
‘संलग्नहरू पक्राउ परिसकेका छन्,’ थापाले नागरिकन्युजसँग भने। घटनामा को-कति संलग्न थिए भन्ने विषयमा प्रहरीले आज नै विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ। ‘अहिले नखुलाऊँ। हामी अहिले दिउँसोतिर चाहिँ एउटा प्रेस रिलिज नै गरेर सबैलाई एकैपटक साझा हुने गरी गरिदिन्छौँ,’ थापाले थप भने।
उनका अनुसार वसन्तको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। वसन्तका बुबा मलेसियाबाट नेपाल फर्किएपछि मात्रै शव दाङ लैजाने तयारी गरिएको छ। ‘बुबा मलेसियामा हुनुहुन्छ रे। मलेसियाबाट पक्कै आउँदै हुनुहुन्छ भनेर आफन्तहरू सम्पर्कमा हुनुहुन्छ। त्यसपछि यहाँबाट पोस्टमार्टम गर्नुपर्यो। त्यसपछि उहाँहरूले लाने हो,’ एसपी थापाले भने।
यता, बिनाको शव भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।
वसन्तको मृत्यु भएको घटनाको अनुसन्धान अघि बढाएर दोषीमाथि कानुनी कारबाही हुनुपर्ने चौधरीको माग छ। ‘अनुसन्धान त बढाउनु पर्यो। मर्न त मरिगयो। जसले त्यो मर्न बाध्य पारेर मार्यो भनौँ न, तिनीहरूलाई कानुनी सजाय त हुनैपर्यो,’ चौधरीको माग छ। कालाथोकी परिवारको आर्थिक अवस्था सामान्य छ। परिवारमा एकैपटक ठुलो समस्या आइपरेपछि अन्त्येष्टि तथा अन्य कामका लागि आवश्यक पर्ने सहयोग गर्ने जानकारी गराए।
तर वडा तहमा ठुलो बजेट नभएकाले नगरपालिकाबाट सहयोग माग्ने तयारी छ। ‘वडा भन्ने मात्रै हो, खासै बजेट हुँदैन हामीसँग। नगरपालिकाबाट कतैबाट भनौँला, ती कुराहरू केही भयो भने,’ उनले भने, ‘जे होस् समस्या पर्यो भने जसरी भए पनि समाधान गर्छौं।’
प्रकाशित: ७ भाद्र २०८३ ०९:११ आइतबार