समाज

अविरल वर्षाले अधिकांश क्षेत्र प्रभावित

फाइल तस्वीर

केही दिनदेखि परेको अविरल वर्षाका कारण खोला तथा नदीमा बाढी आउनुका साथै बस्ती डुबान र सडक आवागमनमा रोकिएको छ। सुदूरपश्चिम तथा कर्णाली तथा लुम्बिनीबाट चल्ने लामो दूरीका सवारीसाधन रोकिएका छन्। भिजिबिलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न सकेको छैन भने आन्तरिक तथा बाह्य उडानसमेत रद्द गरिएको छ।

पानीको बहाव निरन्तर बढ्दा कोसी ब्यारेजका ३५ ढोका खुला गरिएको छ। पर्यटकीय क्षेत्र, व्यापार व्यवसाय प्रभावित भएको छ। अविरल वर्षाले हिमपात हुँदा पाँच सय भेडा हराएका छन् भने भेडा गोठाला भने सम्पर्कमा आएका छन्।

बाँकेबाट नागरिककर्मी गणेश विशुका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षा थपिएसँगै सडक अवरूद्ध हुने, बस्ती डुबानमा पर्ने र नदी तथा खोलाको बहाव क्रम बढ्दो छ। तीन प्रदेशमा गरी ९५ लाखभन्दा बढी जनसंख्या रहेकाले सम्भावित विपद्को असर ठुलो क्षेत्रमा पर्न  सक्ने जोखिम छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। पाल्पाको अर्चलेमा पछिल्लो २४ घन्टामा २४५.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ। पाल्पाकै गैंडाकोटमा १८६.६ मिलिमिटर तथा अर्घाखाँचीमा १६१.४ मिलिमिटर वर्षा भएको छ।

अर्चलेमा पछिल्लो ६ घन्टामै ११२.२ मिलिमिटर पानी परेको छ। भारी वर्षासँगै पहाडी जिल्लामा पहिरो र गेग्रान बग्ने जोखिम बढेको छ भने तराईका नदी तथा खोलानालाआसपास डुबानको खतरा बढेको छ। पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भूगोलअनुसार विपद्को स्वरूप फरक भए पनि जोखिमको घेरा भने ठुलो छ।

लुम्बिनी प्रदेशमा पहाडदेखि तराईसम्म फैलिएको भूगोलका कारण एकैपटक पहिरो र डुबानको जोखिम छ। पाल्पा, अर्घाखाँची र गुल्मीका भिराला क्षेत्रमा पहिरोको जोखिम उच्च छ भने रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियाका होचा तथा नदी तटीय क्षेत्रमा बाढी र डुबानको खतरा छ। राष्ट्रिय जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशमा ५१ लाख २२ हजार ७८ जनसंख्या छ। यो तीन प्रदेशमध्ये सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश हो।

राप्ती, बबई र तिनाउ लगायत नदी तथा खोला आसपासका बस्तीमा बाढीको जोखिमसँगै तराई क्षेत्रमा डुबानको समस्या दोहोरिने गरेको छ। प्रारम्भिक जोखिम आकलनअनुसार लुम्बिनीमा १५ हजारभन्दा बढी घरधुरी मनसुनी बाढी तथा डुबानको प्रत्यक्ष जोखिममा रहेको अनुमान छ।

कर्णालीमा भने मुख्य चुनौती पहिरो र सडक सम्पर्क विच्छेदको हो। विकट पहाडी तथा हिमाली भूगोल, छरिएका बस्ती र कमजोर भिरालो जमिनका कारण सामान्यभन्दा ठुलो वर्षाले पनि सडक तथा बस्तीमा असर पार्ने गरेको छ।

कर्णाली प्रदेशमा १६ लाख ८८ हजार ४१२ जनसंख्या रहेको राष्ट्रिय जनगणनाले देखाएको छ। सल्यान, कालीकोट, जाजरकोटलगायत जिल्लामा पहिरोको जोखिम विशेषरूपमा देखिन्छ। उपलब्ध जोखिम आकलनअनुसार कर्णालीमा ८ हजार ३६० भन्दा बढी घरधुरी बाढी तथा पहिरोको उच्च जोखिममा छन्।

सुदूरपश्चिममा भने पहाडको पहिरो र तराईको नदी कटान तथा डुबानको दोहोरो जोखिम छ। कैलाली र कञ्चनपुरका होचा तथा नदीतटीय बस्तीमा कर्णाली, महाकाली लगायत नदीको बहाव बढ्दा डुबान र कटानको जोखिम बढ्छ भने डँडेलधुरा, डोटी, बझाङ, बाजुरा र दार्चुला लगायत पहाडी जिल्लामा पहिरो तथा सडक अवरोधको खतरा रहन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा २६ लाख ९४ हजार ७८३ जनसंख्या छ। जोखिम आकलनअनुसार प्रदेशका नदी तटीय तथा पहिरो प्रभावित क्षेत्रमा करिब १० हजार घरधुरी बाढी, कटान र पहिरोको जोखिममा छन्।

यसरी लुम्बिनीका १५ हजारभन्दा बढी, कर्णालीका ८ हजार ३ सय ६० भन्दा बढी र सुदूरपश्चिमका करिब १० हजार घरधुरी जोड्दा ३३ हजारभन्दा बढी घरधुरी मनसुनी विपद्को उच्च जोखिममा रहेको प्रारम्भिक तथ्यांकले देखाउँछ।

जोखिममा रहेका घरधुरीको संख्या प्रदेश अनुसार फरक भए पनि तीन प्रदेशको साझा चुनौती भनेको सडक सम्पर्क विच्छेद, उद्धारमा कठिनाइ र राहत सामग्रीको पहुँच हो। पहाडी क्षेत्रमा सडक अवरूद्ध हुँदा उद्धार टोली र अत्यावश्यक सामग्री प्रभावित बस्तीमा पुर्‍याउन कठिन हुन्छ भने तराईमा बाढी र डुबानपछि खानेपानी तथा सरसफाइको समस्या बढ्न सक्छ।

वर्षाका कारण पश्चिम नेपालका विभिन्न स्थानीय तहले विद्यालयसमेत बन्द गरेका छन्। विद्यार्थीको आवतजावतमा बाढी, डुबान र पहिरोको जोखिम बढेपछि स्थानीय तहले पठनपाठन स्थगित गरेका हुन्। बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका होचा क्षेत्रमा डुबानको जोखिम बढेको छ भने पहाडी जिल्लामा सडक अवरोधका कारण दैनिक आवतजावत प्रभावित भएको छ।

यता सम्भावित विपद्लाई ध्यानमा राख्दै तीनै प्रदेशका विपद् व्यवस्थापन संयन्त्र सक्रिय पारिएका छन्। सुरक्षा निकायलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

पश्चिम नेपालमा वर्षा अझै केही दिन कायम रहने पूर्वानुमानसँगै जोखिम पनि तत्काल घट्ने अवस्था छैन। त्यसैले नदी किनार, खोलाआसपास, पहिरोको जोखिम भएका भिराला जमिन र अवरूद्ध सडक क्षेत्रमा विशेष सतर्कता आवश्यक देखिएको छ।

धनगढीबाट नागरिककर्मी दिलबहादुर छत्यालका अनुसार भारी वर्षाबाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमबाट चल्ने लामो दूरीका रात्रीबस सञ्चालनमा रोक लगाइएको छ।

प्रतिकूल मौसम तथा मौसम विज्ञान विभागको भारी र अतिवर्षा हुने पुर्वानुमानका कारण सुदूरपश्चिमबाट काठमाडौं र पोखरातर्फ सञ्चालन हुने केही रात्रीबस रोकिएको यातायात व्यवसायीले बताएका छन्। सुदूरपश्चिम यातायातले धनगढीबाट काठमाडौं र पोखरातर्फ सञ्चालन हुने बस सेवा दुई दिन सञ्चालन नगर्ने निर्णय गरेको सुदूरपश्चिम यातायातका अध्यक्ष पदम सापकोटाले बताए।

मौसम विज्ञान विभागले मौसमसम्बन्धी दिएको जानकारी तथा पोखरा र काठमाडौंमा मौसम खराब देखिएकाले यात्रुको सुरक्षालाई लिएर नम्बरमा बस चलाउन रोकेको उनले बताए।

आइतबारसम्म बस सञ्चालन गर्न रोकिएको हो। धनगढीबाट पोखराका लागि दैनिक २ र काठमाडौंका लागि १३ वटा रात्रीबस सञ्चालन हुँदै आएका छन्।

यसैगरी महाकाली यातायातले पनि काठमाडौं र पोखरातर्फ जाने रात्रीबस सञ्चालनमा रोक लगाएको छ। महाकाली यातायातबाट पोखराका लागि दैनिक दुईवटा र काठमाडौंका लागि एक दर्जनभन्दा बढी रात्रीबस सञ्चालन हुँदै आएका छन्। प्रतिकुल मौसमले उच्च जोखिम रहेकाले लामो दूरीका सवारीसाधन सञ्चालन नगरिएको यातायात व्यवसायीले बताएका छन्। मौसममा सुधार आएपछि नियमित यातायात सञ्चालन गरिने उनीहरूको भनाइ छ।

शुक्रबार बिहानैदेखि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षा भइरहेको छ। वर्षाका कारण जनजीवन प्रभावित भएको छ। मौसम विज्ञान विभागले असोज ९ देखि असोज ११ सम्म विभिन्न ठाउँमा भारी वर्षा तथा अतिवर्षाका कारण बाढी, भूक्षय, गेग्रान बहाव, चट्याङ लगायतको जोखिम हुने बताएको छ।

वीरेन्द्रनगरबाट नागरिककर्मी गोविन्द केसीका अनुसार अविरण वर्षातका कारण हुनसक्ने जोखिमलाई ध्यानमा दिदैं कर्णाली प्रदेशभर सवारीसाधन हिँडडुल रोकिएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शुक्रबार बिहानैदेखि सवारीसाधन अन्य पहाडी, हिमाली जिल्ला जान र आउन रोकिएको हो।

जिल्ला प्रशासन कार्यालयहरूले सवारी साधन आवागमनमा रोक लगाउने निर्णय गरेसँगै प्रहरीहरूले दैलेख, कालिकोटलगायत जिल्लाबाट वीरेन्द्रनगर आउन जिल्लामै गाडी होल्ड गरेका छन्। वर्षासँगै कर्णाली प्रदेशभर अन्तरजिल्ला गाडी हिँडडुलमा रोक लगाएको जनाइएको छ।

वर्षाका कारण हुनसक्ने जोखिमले कर्णाली प्रदेशभर लामो दूरीका सबै सवारीसाधन पूर्ण रूपमा रोकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सन्तोषसिंह राठौरले बताए। ‘अन्तरजिल्ला सवारी साधन चल्न पूर्णरूपमा रोकिएको छ।’ प्रवक्ता राठौरले भने, ‘अति आवश्यक परेमा जिल्लाभित्र फाटफुट सवारीसाधन चल्न अनुमति दिइएको छ।’

जुम्लाबाट नागरिककर्मी गोल्डेन बुढाका अनुसार लगातारको वर्षाले बाक्लो हिमपात भएपछि जुम्लाको चन्दननाथ नगरपालिका– ८ बाट भेडा लिएर गिडीदह आसपासको गैरीगुम पाटन पुगेका ६ गोठाला सम्पर्कमा आएका छन्। उनीहरू बिहीबार रातिदेखि सम्पर्कविहीन थिए तर उनीहरूसँग रहेका करिब पाँच सय भेडाको अवस्था अझै अज्ञात छ। भेडापालक बिर्ख धरालाले अपराह्न ४ बजे दाजु भैरवलाई फोन गरी आफूहरू सुरक्षित रहेको तर पाँच सय भेडाका बारेमा थाहा नभएको बताए।

उनले भने, ‘भाइले आफूहरू धतौरामा सुरक्षित रहेको बतायो, तर पाँच सय भेडा कहाँ छन् भन्ने थाहा नभएको बतायो।’

गोठालाहरूका अनुसार पाटनमा लगातार हिउँ परिरहेको छ। सबैजना एउटै धतौरामा बसेर आश्रय लिइरहेका छन्।

 चिसो बढ्दै गएको र थप हिमपात भए जोखिम बढ्ने भन्दै उनीहरूले तत्काल उद्धारका लागि आफन्तमार्फत आग्रह गरेका छन्। ‘धेरै हिउँ परे जोखिममा पर्छाैं, छिटो उद्धार गरिदिनुपर्‍यो भनेका छन्’, भैरवले भने। उनीहरू सम्पर्कमा आएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले उद्धार टोली परिचालन गरेको छ। प्रहरी सहायक निरीक्षक कालीबहादुर महतको नेतृत्वमा सात सुरक्षाकर्मी र एक नगर प्रहरीसहित आठजनाको टोली पाटनतर्फ गएको छ।

इलामबाट नागरिककर्मी भीम चापागाईंका अनुसार बिहीबार साँझदेखिको निरन्तर झरीले जोगमाई खोलामा बाढी आउँदा इलाममा ढुवानीका साधन बन्द भएका छन्। मेची राजमार्ग राजदुवालीको वैकल्पिक मानिएको सिमलगोलाई–तिल्केनी सडकको जोगमाईस्थित डाइभर्सन गएरातिको बाढीले क्षति गरेको हो।

मर्मत भइरहेको मेची राजमार्गको राजदुवालीबाट ठुला सवारीका साधन चल्ने अवस्था नहुँदा सिमलगोलाई–तिल्केनी सडकबाट चल्दै थिए। इलाम–झापा फास्ट ट्र्याक पनि कच्ची रहेकाले हिलाम्य भइ सवारी साधन चल्ने अवस्था नहुँदा झापादेखि इलाम आउने र जाने ठूला सवारीका साधन बन्द भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार इलाम–झापा फास्ट ट्र्याकमा अहिले हिलोका कारण सवारी साधन चल्ने अवस्था छैन भने सिमलगोलाई–तिल्केनी सडक डाइभर्सनकै कारण बन्द भएको छ।

मालबाहक सवारी साधन नचल्दा सदरमुकामसम्म खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु ल्याउन समस्या भएको छ भने यहाँको कृषिउपज ढुवानी बन्द भएको छ।

अहिले सामान ल्याउन–लैजान राजदुवालीकै बाटोबाट साना गाडी मात्रै प्रयोग गर्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन्। उनीहरूका अनुसार ठुला गाडीमा आउने सामान साना गाडीमा ढुवानी गर्नुपर्दा मूल्य बढी लाग्ने गरेको छ।

 पोहोर असोज १८ र १९ को बाढी–पहिरोले राजदुवालीको मेची राजमार्ग क्षतविक्षत बनाएको थियो। हिउँदभर मर्मत गरेर चले पनि यो साल बर्खादेखि नै यो खण्ड बन्द थियो। केही दिनअघि साना सवारी साधन चलिरहे पनि ठुला गाडीलाई अनुमति दिइएको छैन।

व्यवसायीले ठुला गाडी नचल्दा विशेषगरी इन्धन र खाना पकाउने ग्यास ल्याउन समस्या हुने गरेको बताएका छन्। ‘चाँडोभन्दा चाँडो सडक मर्मत गरी सञ्चालन गर्नुपर्छ’, इलाम उद्योग वाणिज्य संघ अध्यक्ष चेतनाथ पौडेलले भने, ‘सामान नल्याउँदा उपभोग्य वस्तु अभाव हुन्छ, साना गाडीमा पल्टी गरेर सामान ल्याउँदा केही महँगो पर्न जान्छ। त्यसैले सडक नै छिटो बनाउनु नै सबैभन्दा उत्तम विकल्प हो।’

जोगमाईमा रहेको नयाँ बेलीब्रिज पोहोर असोज १८ गते रातिको बाढीले बगाएको थियो। त्यसयता डाइभर्सनबाट गाडी पार गराइरहे पनि पटक–पटकको बाढीले बगाउने गरेको छ।

इलाम–झापा फास्ट ट्र्याकमा पर्ने पुवाखोलाको नयाँ डाइभर्सन पनि पोहोर असोज १८ गते राति बाढीले बगाएको थियो। अहिले इलाम–झापा फास्ट ट्र्याक मर्मत भइरहेको छ। कालोपत्रसमेत गर्ने गरी ठेक्का लागे पनि काममा चरम ढिलाइ भएकाले इलामवासीले सास्ती खेपिरहेका छन्।’

उदयपुरबाट नागरिककर्मी महेश्वर चामलिङ राईका अनुसार सम्भावित भारी वर्षा र विपद्को पूर्वानुमान सार्वजनिक भएपछि नेपाली कांग्रेस खोटाङले १५औं महाधिवेशनअन्तर्गतका सबै कार्यक्रम स्थगित गरेको छ।

 कांग्रेस जिल्ला कार्यसमितिले बिहीबार एक सूचना जारी गर्दै देशभर भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपणअनुसार वर्षा भइरहेकाले तोकिएको मितिमा प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरेको जनाएको छ।

 मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाअनुसार असोज ९ देखि १२ सम्म देशभर भारी वर्षा हुने सम्भावना रहेकाले पार्टीको महाधिवेशनअन्तर्गत असोज १० गते गर्ने तय भएको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको जारी सूचनामा जनाइएको छ।

पार्टी जिल्ला सचिव समीर राईद्वारा जारी सूचनामा देशभर भइरहेको अविरल वर्षाका कारण असोज १० गते निर्धारण गरिएको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ। मौसमको अवस्था र अनुकूलता हेरेर अधिवेशनको नयाँ मिति तय गरिने पनि सूचनामा उल्लेख छ।  

प्रकाशित: १० आश्विन २०८३ ०८:३४ शनिबार