समाज

एक वर्षमा चार लाख बढीले पाए निःशुल्क आँखा उपचार

विगत एक वर्षमा ४ लाखभन्दा बढी आँखाका बिरामीहरूको निःशुल्क उपचार गरिएको छ। नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आबद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरूमार्फत ४ लाख ५४ हजार ९ सय ४२ आँखाका बिरामीको  निःशुल्क उपचार गरिएको हो।

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले संघद्वारा नेपाल सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूको सहयोग तथा अस्पतालहरूको आन्तरिक श्रोतबाट निःशुल्क उपचार गरिएको बताए। उनका अनुसार सन् २०२५ मा संघको सञ्जालमार्फत ३३ लाख ७८ हजार ४२ जना आँखाका बिरामीहरूको आँखा परीक्षण गरी २ लाख ६६ हजार ४०१ जनाको शल्यक्रिया गरिएको छ।

कार्यकारी निर्देशक डा. मिश्रले भने, “सन् २०२५ मा संघद्वारा सञ्चालित आँखा अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरूमार्फत २५ हजार ५ सय ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको छ।”

नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पुर्‍याउने दायित्व र निर्देशन प्राप्त भएअनुरूप स्वयमसेवक तथा कर्मचारीहरू मार्फत स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयसँगको सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरू, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एवं दाताहरूको साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज, सर्वसुलभ र गुणस्तरीय उपचारमा पहुँच पुर्‍याउन संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।

नौ लाख बढी विदेशी नागरिक आँखा उपचार : अधिकांश भारतीय

संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघअन्तर्गतका अस्पतालहरूले प्रवाह गर्ने सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगायतका मुलुकका नागरिक समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन्।

उनले भने, “एक वर्ष अर्थात् सन् २०२५ मा मात्र संघको सञ्जालमार्फत ९ लाख ११ हजार ९८० जना अन्य देशका नागरिकहरूको आँखा परीक्षण गरी १ लाख ५३ हजार ८६  बिरामीहरूको शल्यक्रिया गरिएको छ। यसमा अधिकांश भारतीय नागरिक छन्।”

उनले नेपालमा उपलब्ध उच्चस्तरीय आँखा उपचार सेवाका कारण विदेशी नागरिकहरू समेत उपचारका लागि नेपाल आउने क्रम निरन्तर बढिरहेको देखाएको बताए।

महासचिव चन्दले भने, “अब हाम्रो प्राथमिकता अझ व्यापक रूपमा आम नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवाको पहुचमा ल्याउँदै नेपाललाई आँखा उपचारको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नु हो। यसका लागि नेपाल सरकारसँग सहकार्य गर्दै दीर्घकालीन योजना तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढिरहेका छौं।”

अझै आँखा स्वास्थ्यमा जनचेतनाको अभाव

संघका अध्यक्ष प्राडा चेजराज पन्तले नेपालमा आँखा उपचारका क्षेत्रमा धेरै विकास भए पनि अझै धेरै नेपाली आँखा उपचारसम्बन्धी जनचेतनाको अभावमा उपचारबाट वन्चित रहेको बताए।

उनका अनुसार नेपालका सातै प्रदेशलाई समेट्ने गरी सन् २०२१ मा गरिएको  आरएएबी (RAAB) सर्वेले समेत आँखा उपचारसम्बन्धी जनचेतनाका अभावमा सबैभन्दा बढी नागरिक आँखा उपचार सेवाबाट वञ्चित रहेको देखाएको छ। उनले भने ,“सबै मिलेर आँखा उपचार सम्बन्धी जनचेतना जगाउन आवश्यक छ। ”

गैरसरकारी संस्थाका रूपमा २०३५ साल चैत्र १३ गते संघको स्थापना भएको थियो। संघ आफ्नो स्थापनाको ४७ वर्ष पार गरी ४८ वर्षमा प्रवेश गरेको छ। ४८औँ नेत्रज्योति दिवसको सन्दर्भमा संघले आँखा स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि, प्रविधिको प्रयोगमार्फत सेवा सुदृढीकरण तथा समुदायस्तरमा सचेतना विस्तारलाई अझ प्राथमिकतामा राखेको संघले जनाएको छ।

अध्यक्ष प्राडा पन्तले अब संघले आँखा उपचार सेवाको दायरा विस्तार गर्दे अन्धोपन न्यूनीकरणको अभियान सञ्चालन गर्ने बताए।

उनले भने, “अहिले नेपालमा अन्धोपनाको अवस्था ०.२८ प्रतिशत छ यसलाई हामीले सन् २०३० सम्ममा ०.२० प्रतिशतमा झार्ने गरी काम गरिरहेका छौ। ”

संघले रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण, समयमै परीक्षण र उपचारको पहुँच विस्तार, तथा बालबालिका, ज्येष्ठ नागरिक र जोखिममा रहेका समूहलाई लक्षित कार्यक्रमहरूलाई तीव्रता दिइने जनाएको छ।

स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा संघको सञ्जाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी ५ करोड २ लाख ४८९ जना जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

प्रकाशित: १२ चैत्र २०८२ १२:४१ बिहीबार