समाज

एकै वर्ष साइबर अपराधका २० हजारभन्दा बढी उजुरी

गत आर्थिक वर्ष २०८२/०८३ मा देशभरबाट साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा उजुरी परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग गरी हुने ठगी, चरित्रहत्या र अनलाइन स्क्यामिङका घटना बढेसँगै उजुरीको संख्या विगतका वर्षहरूभन्दा ह्वात्तै बढेको हो।

सो अवधिमा ब्यूरोले साइबर अपराधमा १६१ वटा मुद्दा दर्ता गरी १५५ जना अभियुक्तलाई पक्राउ गरेको छ।

प्राप्त निवेदनहरूमध्ये सबैभन्दा धेरै फेसबुक/म्यासेन्जर दुरुपयोगका ७ हजार १२३ वटा र टिकटकका ६ हजार ७७६ वटा रहेका छन्।

यस्तै ह्वाट्सएपका ३ हजार १०५, टेलिग्रामका १ हजार ३१, इसेवा/खल्ती/बैंक खाता दुरुपयोगका ७४४ र संस्थागततर्फ ८४६ वटा उजुरी दर्ता भएका छन्।

यसअघि आर्थिक वर्ष २०८१/०८२ मा १८ हजार ९२६ र आव २०८०/०८१ मा १९ हजार ७३० वटा उजुरी परेका थिए।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार बैंक तथा वालेटका प्रतिनिधि बनेर, पार्सल वा लोटरी परेको प्रलोभन देखाएर, वैदेशिक रोजगारी वा अनलाइन जबका नाममा ठगी गर्ने प्रवृत्ति पछिल्लो समय व्यापक बनेको छ।

ब्यूरोले प्रविधिको प्रयोग गरी हुने यस्ता अपराधमा संलग्नहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कानुनी दायरामा ल्याउँदै आएको छ।

इमेलमार्फत महिलाको चरित्रहत्या गर्ने सुरेन्द्रप्रसाद खनाल, फेसबुक ह्याक गरी ठगी गर्ने विवेक सुनार र इसेवा कर्मचारी बनेर ठगी गर्ने शुभम साह जस्ता अभियुक्तहरू हालै पक्राउ परेका छन्।

ब्यूरोले आम नागरिकलाई अनलाइन कारोबार र सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन आग्रह गरेको छ।

प्रकाशित: २८ श्रावण २०८३ १८:४७ बिहीबार