समाज

सहरमा पनि बाँदर आतंक

कोहलपुर चौराहका पसलमा अहिले ग्राहकसँगै बाँदर पनि आउँछन्। फरक यत्ति हो, ग्राहकले पैसा तिरेर सामान लैजान्छन्, बाँदर भने मौका पाउनासाथ सामान उठाएर भाग्छन्। फलफूल व्यवसायी बुधराम यादवको पसलमा केही दिनअघि पाँच/सात वटा बाँदर पसे र आँप बोकेर भागे। अहिले प्रतिकिलो चार सय रुपैयाँ पर्ने आँप पसलबाट बाँदरले लैजानु उनका लागि नयाँ घटना होइन। यहाँका पसलमा दिनहुँजसो बाँदर आतंक देख्न पाइन्छ।

यादवका लागि पसलमा बाँदर पस्नु हैरानीको विषय बनेको छ। ग्राहकलाई फलफूल बेच्न लाग्दा पसलमा बाँदर पसेपछि उनी ग्राहक छाडेर बाँदर धपाउन दौडिन्छन्। ‘ग्राहकलाई सामान दिने कि बाँदर धपाउने भन्ने हुन्छ,’ उनी भन्छन्, ‘अलिकति ध्यान पुगेन भने बाँदरले पसलमा पसेर सामानको सोत्तर लगाउँछन्।’

कहिलेकाहीं त पसलपसलमा १२/१५ वटाको समूहमा बाँदर आउँदा उनी हैरान हुन्छन्।

कोहलपुर चौराहकै किराना व्यवसायी देवराज उपाध्यायले पनि यस्तै समस्या भोगिरहेका छन्। ग्राहकले रोजेको सामान निकाल्दै गर्दा पसलमा बाँदर पसेर  चिप्सका प्याकेट उठाएर लगेका घटना धेरै भएको उनी सुनाउँछन्।

पसलबाट सामान उठाउन नपाए बाँदरले छतमा उफ्रिने, टिनमा हाम्फाल्ने, कराउने र संरचनामा क्षति पु¥याउनेसम्मका गतिविधि गर्ने व्यवसायी बताउँछन्। बाँदरबाट आजित केही व्यवसायीले त बाँदर देख्नेबित्तिकै फलफूल वा अन्य खानेकुरा दिएर शान्त पार्न थालेका छन्।

खानेकुरा पाएपछि केही समय शान्त हुने र पसलबाट टाढा जाने भएकाले यस्तो उपाय अपनाउनुपरेको व्यापारी बताउँछन्। तर यसबाट समस्या समाधान हुनुको सट्टा बाँदरलाई पल्काएर झन् जोखिम निम्त्याउने काम पनि भएको कतिपयको बुझाइ छ।

कोहलपुरमा जस्तै बाँदर आतंक नेपालगन्जमा पनि छ। सुर्खेत रोड, घरबारी टोल, न्युरोडलगायत क्षेत्रमा बाँदरको आवतजावत बढेको व्यवसायी बताउँछन्। सहरका घना बस्ती, घरका छाना, पसलअगाडि बाँदरका समूह देखिन्छन्। नेपालगन्जका केही व्यवसायीले फलफूल तथा खाद्य सामग्री जोगाउन निरन्तर बाँदरको निगरानी गर्नुपर्ने अवस्था आएको बताउँछन्।

ग्रामीण क्षेत्रमा भने बाँदरको समस्या झन् गम्भीर छ। खेतबारीमा लगाएको मकै, तरकारी, फलफूल र अन्य कृषि उपजमा बाँदरले क्षति पु¥याउँदै आएका छन्। महिनौं लगाएर हुर्काएको बालीमा बाँदर पस्दा ठुलो नोक्सानी बेहोर्नुपरेका भुक्तभोगी बताउँछन्।

बाली जोगाउन किसानले हेरालु राख्ने, बाँदर धपाउन ठुलो आवाज निकाल्ने लगायत घरेलु उपाय अपनाउने गरेका छन्। तर बाँदरको संख्या बढेपछि यस्ता उपाय प्रभावकारी हुन छाडेका छन्। बाँदर समस्या खेतबारीमा मात्रै सीमित छैन। घरघर र पसलमा पनि बाँदर पसेर हैरान पार्न थालेका छन्।

व्यापारीका अनुसार एउटा पसलबाट दैनिक दुई÷चार सय रुपैयाँसम्मको सामान बाँदरले लैजान्छन्। दैनिकरूपमा यही क्रम दोहोरिँदा महिनामा हजारौँ रुपैयाँसम्मको नोक्सानी हुने उनीहरू बताउँछन्। यसकारण बाँदर पनि आर्थिक क्षतिको कारक बनेका छन्।

बाँदर बजार क्षेत्रमा किन आकर्षित हुन थाले भन्ने प्रश्न पनि उठन थालेको छ। मानव बस्ती विस्तारसँगै प्राकृतिक बासस्थान खुम्चिँदै जानु, बजार क्षेत्रमा सहजै खानेकुरा उपलब्ध हुनुले पनि बाँदर सहर पस्न थालेको जानकार बताउँछन्।

बाँदर समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनीहरू बताउँछन्। बाँदरको बासस्थान, आवतजावत गर्ने क्षेत्र र मानव बस्तीमा प्रवेश गर्ने कारण पहिचान गरी नियन्त्रण तथा व्यवस्थापनका उपाय खोजिनुपर्ने जानकारको भनाइ छ। बाँदर आतंक न्यूनीकरणका लागि स्थानीय सरकारले ठोस कदम चालेको देखिँदैन।

प्रकाशित: २७ श्रावण २०८३ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App