समाज

बाढीपछि नदी किनारमा थुप्रिएका काठको निगरानी र जफत सुरु

डिभिजन वन कार्यालय चितवनले भोटेकोशी र त्रिशूली हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलिया काठ तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान सुरु गरेको छ।

कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ संकलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कार्यालयका प्रमुख एवं वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार रसुवा बाढीका कारण पहाडी क्षेत्रका सल्ला र उत्तिस तथा तल्लो तटीय क्षेत्रका सालका ढलेका तथा बगेका काठ–दाउरा नारायणी नदी किनारमा ठूलो मात्रामा थुप्रिएका छन्।

नदी किनारबाट स्थानीयवासीले जथाभावी काठ उठाउन थालेपछि वन कार्यालयले निगरानी र नियन्त्रणको काम सुरु गरेको हो।  

नदी किनारमा शव भेटिएका बेला मानिसले शवको वेवास्ता गर्दै काठ सङ्कलनका लागि आफ्नो ज्यानै जोखिममा पारेर नदीमा पसेका थिए।

प्रमुख आचार्यले भने, ‘नदीले बगाएर ल्याएको काठ उठाउन पाइँदैन। यसरी सङ्कलन गरिएका काठ गैरकानुनी हुन्छन्। यसअघि सबै जना शव व्यवस्थापनमा केन्द्रित भएकाले काठ नियन्त्रणमा कदम चाल्न सकेका थिएनौँ। अब शव भेटिन कम भएकाले आजैदेखि नदी किनारमा रहेका काठको निगरानी र नियन्त्रण गर्ने काम सुरु गरेका छौँ।’

विशेषगरी नारायणीको देवघाट क्षेत्रदेखि पुलचोक, भरतपुर महानगरपालिका–३ आसपास तथा नारायणी, ज्ञानेश्वर र सेतीदेवी सामुदायिक वन क्षेत्रको नदी किनारमा ठूलो मात्रामा काठ थुप्रिएको उनले बताए।

नदीको तीव्र बहाव र जोखिमयुक्त स्थानमा प्रवेश गरी काठ निकाल्ने, तान्ने, काट्ने, ओसारपसार गर्ने, बिक्री–वितरण गर्ने वा आफ्नो स्वामित्वमा लिने कार्य नगर्न सबैलाई सूचीत गरिएको आचार्यले बताए।

अवैध रूपमा संकलन गरिएका काठ वन कार्यालयले जफत गर्ने उनको भनाइ छ। अधिकृत आचार्यलले कसैले आफूखुसी काठ सङ्कलन, चोरी, निकासी वा बिक्री–वितरण गरेको पाइएमा वन ऐन, २०७६, वन नियमावली, २०७९ तथा अन्य प्रचलित कानुन बमोजिम कानुनी कारबाही गरिने चेतावनी दिए।

बाढीले बगाएर ल्याएका काठ–दाउराको पहिचान, लगत सङ्कलन, नापजाँच र व्यवस्थापन वन कार्यालयबाटै गरिने भएकाले कतै काठ–दाउरा देखिएमा नजिकको वन कार्यालय, वन कर्मचारी वा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई जानकारी गराइ सहयोग गर्न डिभिजन वन कार्यालय चितवनले अनुरोध गरेको छ।

प्रकाशित: १६ भाद्र २०८३ १६:४६ मंगलबार