चारैतिर अग्ला पक्की पर्खाल, गेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चौबीसै घण्टा पहरा अनि भित्र छिर्ने जो-कोहीमाथि हुने सूक्ष्म जाँच।
सुरक्षाको यति कडा घेरा नाघेर कारागारभित्र प्रतिबन्धित वस्तु छिर्नु त परको कुरा, सामान्य लापरबाहीको समेत कल्पना गरिँदैन। तर, जिल्ला कारागार मोरङभित्रको दृश्य भने सामान्य सुरक्षा समझभन्दा निकै भिन्न र भयानक देखिएको छ।
कारागारको कैदीबन्दी बस्ने कोठाभित्रैबाट बिहीबार १० लाख रुपैयाँभन्दा बढी नगद, दुई थान स्मार्टफोन र प्राणघातक फलामे रडहरू बरामद भएपछि कारागारको सुरक्षा व्यवस्था र प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको छ।
लामो समयदेखि आन्तरिक विवाद र केही कैदीबन्दीको दबदबाका कारण तनावग्रस्त बनेको मोरङ कारागारको ‘बी’ ब्लकमा बिहीबार प्रहरीले विशेष ‘सर्च अपरेसन’ चलाएको थियो।
बिहान ११ बजेदेखि दिउँसो १२ः५० बजेसम्म झण्डै दुई घण्टा चलेको उक्त खानतलासीका क्रममा ‘बी’ ब्लकभित्र सञ्चालित किराना पसलबाट १० लाख ३ हजार १५५ रुपैयाँ नगद बरामद गरिएको छ।
त्यसैगरी, कैदीबन्दी बस्ने कोठा नम्बर १ बाट दुई थान मोबाइल र कोठा नम्बर २ बाट आठ वटा फलामे रड, एउटा बेल्चा र फलामका पाइपहरू फेला परेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोबाइल बरामद भएको कोठा नम्बर १ मा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मनिष विक बस्दै आएका थिए।
कारागार प्रशासनले कैदीबन्दीलाई आफन्तसँग सम्पर्क गर्नका लागि भित्रै ल्यान्डलाइन फोनको व्यवस्था गरिदिएको भए पनि विकले व्यक्तिगत मोबाइल र सिमकार्ड प्रयोग गरेर लामो समयदेखि नियमित रूपमा बाहिरी दुनियाँसँग सम्पर्क गरिरहेको खुलेको छ।
यस्तै, फलामे रड र हतियारका रूपमा प्रयोग हुन सक्ने सामग्री भेटिएको कोठा नम्बर २ मा भने कारागारका तत्कालीन चौकीदार विशाल निरौला र भारतीय नागरिक चञ्चल बर्मा बस्ने गर्दथे।
कैदीबन्दीको नियन्त्रणमा रहने यस्ता हतियारजन्य औजारले कारागारभित्र जुनसुकै बेला ठूलो हिंसात्मक झडप निम्त्याउन सक्ने जोखिम थियो।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले यति ठूलो परिमाणमा नगद, हतियारजन्य वस्तु र मोबाइल कसरी कारागारभित्र पुग्यो भन्ने विषयमा सूक्ष्म अनुसन्धान थालिएको जानकारी दिए।
‘बी ब्लकभित्र रहेका केही कैदीबन्दीले भित्रबाट ताला लगाएर अवरोध सिर्जना गरेका कारण विगत केही समयदेखि नियमित सर्च अभियान हुन सकेको थिएन,’ डीएसपी मिश्रले भने, ‘त्यहाँका ३७ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएपछि अवस्था सहज भयो र आज संयुक्त टोलीले अपरेसन चलाएको हो। घटना निकै संवेदनशील भएकाले कसको कमजोरी वा मिलेमतो थियो भन्ने कुरा अनुसन्धानको दायरामा छ। तथ्यहरू बाहिर आएपछि विस्तृत विवरण सार्वजनिक गर्नेछौं।’
कारागार प्रशासनका अनुसार ‘बी’ ब्लकका तत्कालीन नाइके र चौकीदारहरूको समूहले भित्र आफ्नै समानान्तर शासन चलाउँदै आएको थियो। उनीहरूले अन्य सामान्य कैदीबन्दीमाथि अमानवीय कुटपिट गर्ने, चरम मानसिक तथा शारीरिक यातना दिने र ब्लकलाई भित्रैबाट बन्द गरेर बाहिरी प्रशासनलाई समेत चुनौती दिने गरेका थिए।
नाइकेहरूको निरन्तरको अत्याचारबाट आजित भएका पीडित कैदीबन्दीहरूको समूहले केही दिनअघि चलाखीपूर्ण ढंगले विद्रोह गरेको थियो। उनीहरूले अत्याचारमा संलग्न नाइके र चौकीदारसहितका मुख्य व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कारागारको मूल ढोकाबाट बाहिर निकाली प्रहरीको जिम्मा लगाइदिएका थिए।
त्यसलगत्तै कारागार व्यवस्थापन विभाग र स्थानीय प्रशासनले दुई चरणमा गरी उक्त समूहका ३७ जना कैदीबन्दीलाई देशका विभिन्न कारागारमा स्थानान्तरण गरेको थियो। त्यसपछि मात्रै प्रहरीलाई ‘बी’ ब्लकभित्र प्रवेश गरेर अनुसन्धान गर्ने बाटो खुलेको थियो।
मोरङ कारागारमा पुरुष कैदीबन्दीका लागि ‘ए’ र ‘बी’ गरी दुईवटा तथा महिलाका लागि छुट्टै एउटा ब्लक रहेको छ।
प्रकाशित: २५ भाद्र २०८३ २१:२२ बिहीबार