नेपाल टेलिकमको लापरबाहीका कारण कालीकोटका नागरिक मोबाइल इन्टरनेट सेवाबाट वञ्चित भएका छन्।
महिनैदेखि जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा मोबाइल इन्टरनेट सेवा बेलुकाको समयमा राम्रोसँग सुचारु नहुँदा सेवाग्राही निकै मर्कामा परेका छन्।
इन्टरनेट सेवा दिनुको साटो कर्मचारीले विभिन्न बहाना बनाउँदा दैनिक प्रशासनिकसहित अन्य काममा असर परेको स्थानीयवासीको गुनासो छ। गाउँपालिकाको सेन्टरमा समेत फोन नलाग्ने इन्टरनेट सेवा राम्रोसँग नचल्नु गरेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। उनले गाउँपालिकाको कुनैपनि ठाउँमा मोबाइल इन्टरनेट नचल्ने गरेको बताए।
इन्टरनेट नहुँदा लगभग सबै पेसामा समस्या हुने भएकाले सम्बन्धित निकायको यसमा यथाशीघ्र ध्यान दिन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले बताए। इन्टरनेट सेवा राम्रोसँग नचलेको गुनासोबारे समन्वय भइरहेको बताएका छन्।
जिल्लाको पूर्वी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिकालगायतका क्षेत्रका सेवाग्राही मर्कामा परेका छन्। पानी पर्दा होस् वा हिउँ पर्दा, नेटवर्क नभएर गाउँबाट टाढा गएका छोराछोरीलाई खबर गर्नुपरे अग्ला डाँडा चढ्नुपर्ने बाध्यता रहेको महावै ३ का वडा अध्यक्ष पदम बहादुर सिंहले बताए।
शनिबार प्रजिअ भट्टराईले आवश्यक समन्वय गरि तत्काल नेटवर्क सेवा पुगाउन समन्वय गर्ने बताएका छन्।
प्रकाशित: २७ भाद्र २०८३ १३:५३ शनिबार