पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो नयाँ बालपुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक गरेकी छिन्।
शनिबार आफ्ना नातिको अन्नप्राशनको पारिवारिक एवं विशेष अवसर पारेर उनले उक्त पुस्तक विमोचन गर्दै नातिलाई नै समर्पित गरेकी हुन्।
यसअघि उनको आत्मकथा ‘न्याय’ र उपन्यास ‘कारा’ प्रकाशित भइसकेका छन्।
कार्कीका अनुसार ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ उनको सार्वजनिक जीवनको सबैभन्दा चुनौतीपूर्ण कालखण्डमा लेखिएको हो।
जेन-जी आन्दोलनले तत्कालीन सरकारलाई सत्ताच्युत गरेपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व गरिरहँदाको राजनीतिक अस्थिरता र सङ्कटका बीच उनले यस पुस्तकको सिर्जना गरेकी हुन्।
चरम राजनीतिक दबाब र अनिश्चितताका बीच बाल मनोविज्ञान, कल्पनाशीलता र भावनात्मक लचिलोपनलाई बुझ्न आफूले कथावाचनको सहारा लिएको उनको भनाइ छ।
उनका अनुसार यस बालपुस्तकले प्रेम, आशा र सकारात्मकताको सन्देश बोकेको छ। साना बालबालिकालाई आकर्षित गर्ने गरी तयार पारिएको यस कथाले उनीहरूमा संसारप्रतिको जिज्ञासा र भावनात्मक बुझाइलाई थप बलियो बनाउने प्रयास गरेको छ।
राष्ट्रिय जिम्मेवारीको गहन दबाबका बेला पनि आफ्नो रचनात्मकता र आत्ममन्थनबाट यो कथा प्रस्फुटित भएको कार्कीले सुनाइन्।
पारिवारिक उत्सवसँगै जोडिएको विमोचन कार्यक्रममा कार्कीले यस पुस्तक आफ्नो हृदयको सबैभन्दा नजिकको कृति भएको बताइन्।
यस कृतिले प्रारम्भिक बाल्यकालमा बालबालिकाको भावनात्मक कल्पनाको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।
प्रकाशित: ९ जेष्ठ २०८३ २१:४१ शनिबार



