समाज

मिश्री बुधबार काठमाडौं उत्रिने

भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं उत्रिने भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले मंसिरको पहिलो साता भारत भ्रमणमा निस्कन लागेको बताइएका बेला मिश्री काठमाडौं उत्रिन लागेका हुन्। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिकतामा आउन लागेको जनाएको हो। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौं उत्रिन लागेका उनी बिहीबार स्वदेश फर्कने छन्।

काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुका साथै प्रधानमन्त्री शाहको भारत भ्रमणको अजेन्डा तय गरिने निकट स्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयले भने भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिवले भारतका विदेश सचिवसँग द्विपक्षीय वार्ता गर्ने जनाएको छ।

साथै दुई देशबिचको लामो समयदेखिको घनिष्ट तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ भ्रमण तय भएको जनाइएको छ। ‘दुवै पक्षले नेपाल-भारत सम्बन्धका विविध आयामको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदान–प्रदान गर्नेछन्’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०८:४५ मंगलबार