युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका श्रम तथा रोजगार कार्यालयहरू पोखरा, नेपालगन्ज, बुटवल र धनुषा र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र काठमाडौंले मङ्सिर ८ गते २८ वटा प्रतिष्ठानको दैनिक श्रम निरीक्षण गरेका छन्।
निरीक्षणमा रोजगार सम्झौता, न्यूनतम पारिश्रमिक, एसएसएफ आबद्धता, श्रम अडिट, ओएसएच नीति, कार्य समय, ओभर टाइम र बिदासम्बन्धी अवस्था हेरिएको थियो।
२४ प्रतिष्ठानका ३०० कर्मचारीमध्ये २६५ जना (करिब ८८५) एसएसएफमा आबद्ध नभएको भेटिएको छ। काठमाडौंका १२ प्रतिष्ठानका १७४ जना, पोखराका ६ प्रतिष्ठानका ४६ जना, बुटवलका ४ प्रतिष्ठानका ३२ जना र नेपालगन्जका २ होटेलका १३ जना सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको भेटिएका छन्।
७ प्रतिष्ठानका ३२ कर्मचारीसँग रोजगार सम्झौता वा नियुक्ति पत्र छैन। काठमाडौंका ३ प्रतिष्ठानमा ११ जना, नेपालगन्जका १३ जना र बुटवलका ८ जना छन्। पोखराका ६ प्रतिष्ठानका ४६ जनासँग पनि रोजगार सम्झौता नभएको पाइएको छ।
पोखराका ६ प्रतिष्ठान (४६ कर्मचारी), नेपालगन्जका २ होटेल (१३ कर्मचारी) र बुटवलका २ होटेल (८ कर्मचारी) गरी १० प्रतिष्ठानका ६७ कर्मचारीका लागि न्यूनतम पारिश्रमिक लागू नभएको पाइएको छ।
पोखराका ६ प्रतिष्ठानमा ओभर टाइम र बिदाको व्यवस्था नियमानुसार नरहेको पाइएको छ। यी प्रतिष्ठानका ४६ कर्मचारी प्रभावित छन्।
काठमाडौंका ३ प्रतिष्ठान (१६ कर्मचारी), पोखराका ६ प्रतिष्ठान (४६ कर्मचारी), नेपालगन्जका ३ प्रतिष्ठान (४० कर्मचारी) र धनुषाको एक प्रतिष्ठान (६५ जना) ले श्रम अडिट पेस गरेका छैनन्।
निरीक्षण टोलीले सम्बन्धित प्रतिष्ठानहरूलाई रोजगार सम्झौता गर्न, न्यूनतम पारिश्रमिक दिन, सबै श्रमिकलाई एसएसएफमा आबद्ध गराउन, श्रम ऐनअनुसार बिदा र अतिरिक्त समयको पारिश्रमिक दिन तथा माग गरिएका विवरण समयमै पेस गर्न निर्देशन दिएका छन्।
प्रकाशित: ९ मंसिर २०८३ १०:१२ बुधबार