आगामी शुक्रबारदेखि देशका विभिन्न भू-भागमा अति भारी वर्षा र प्राकृतिक विपद्को उच्च जोखिम देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयहरूमा बिदा दिन र सञ्चालन भइरहेका परीक्षा स्थगित गर्न आग्रह गरेको छ।
मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै शिक्षण संस्थाहरूलाई पूर्वतयारी र उच्च सतर्कतामा रहन निर्देशन दिएको हो।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विज्ञहरूको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।
साथै, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र तल्लो भेगमा बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम औंल्याइएको छ। प्रतिकूल मौसमले सडक, विद्युत् र सञ्चार सेवासमेत प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
विपद्का बेला त्रासमा रहनुभन्दा पूर्वसावधानी अपनाउनु बुद्धिमानी हुने भन्दै मन्त्रालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राखी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा दिन अनुरोध गरेको छ।
त्यसैगरी, सबै विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायहरूलाई असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षाहरू आवश्यकताअनुसार स्थगित गर्न भनिएको छ।
विपद्को विषम परिस्थितिमा सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले स्थानीय तहलाई आवश्यक सहजीकरण गरिदिन पनि शिक्षण संस्थाहरूलाई मन्त्रालयले आग्रह गरेको छ।
यसका साथै, जोखिमको समयमा बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका खतरनाक स्थानमा जान नदिन अभिभावकहरूलाई विशेष निगरानी राख्न अपिल गरिएको छ।
मन्त्रालयका प्रवक्ता एवम् सहसचिव श्रीप्रसाद भट्टराईले सम्भावित जोखिम न्यूनीकरण गर्न सम्पूर्ण विश्वविद्यालय, शिक्षालय, विद्यालय, स्थानीय तह, शिक्षक तथा अभिभावकहरूलाई समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
प्रकाशित: ७ आश्विन २०८३ २१:३३ बुधबार