समाज

सैनिक लघु चलचित्र प्रतियोगिता: ‘बुख्याँचा’ सर्वोत्कृष्ट, प्रधानसेनापति सिग्देलद्वारा पुरस्कार वितरण

फाइल तस्बिर : प्रधानसेनापति अशोकराज सिग्देल

प्रधानसेनापति अशोकराज सिग्देलले विसं २०८२ को लघु चलचित्र प्रतियोगिताका तीन उत्कृष्ट चलचित्र निर्मातालाई पुरस्कार प्रदान गरेका छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको २४औँ वार्षिकोत्सवका अवसरमा मंगलबार साँझ सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा लघु चलचित्र बुख्याँचाका सुरज पराजुली, अमरकर्तव्यका देवशंकर पौडेल र अडानका निर्माता राम नरेशलाई उनले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन्। प्रतियोगितामा लघु चलचित्र बुख्याँचा प्रथम, अमर कर्तव्य द्वितीय र अडान तृतीय घोषित भई क्रमशः रु दुई लाख, रु एक लाख ५० हजार र रु एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे।

नेपाली सेनाले संगठन स्थापना दिवसका अवसरमा राष्ट्रिय विकास, विपद व्यवस्थापन, प्रकृति तथा पर्यावरण संरक्षण, राष्ट्रिय एकताको प्रवर्धन र अन्तर्राष्ट्रिय शान्ति कार्यमा पुर्‍याएको योगदानसम्बन्धी विषयमा लघु चलचित्र निर्माण गर्न आह्वान गरेको थियो।

प्रतियोगिताका लागि ३४ वटा निवेदन परेकामा १० वटा स्क्रिप्ट छनोट गरी चलचित्र निर्माणका लागि सेनाले आवश्यक सहयोग र सहजीकरण गरेकामा ती तीन चलचित्र छनोट भएका हुन्। त्यस अवसरमा महाशिवरात्रि तथा सेना दिवस २०८२ का अवसरमा आयोजित नेपाली सेना फोटो प्रदर्शनीका उत्कृष्ट युनिट तथा निर्देशनालयलाई पुरस्कृत गरियो।

प्रतियोगितामा शार्दुलजंग गुल्म प्रथम, सैनिक कल्याणकारी निर्देशनालय दोस्रो र प्रतिविद्रोह तथा जंगल शिक्षालय तृतीय घोषित भए। प्रधानसेनापति सिग्देलले कार्यक्रममा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक, २०८२ मा प्रकाशित उत्कृष्ट तीन लेखका सर्जक चन्द्रदेव भट्ट, सहायकरथी दिलविक्रम सुब्बा र महासेनानी ईश्वर बुढाथोकीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले निर्देशनालयले नागरिकको सूचना पाउने अधिकारको सम्मान गर्दै नागरिक, सेना र संचारजगतबीच पुलका रुपमा काम गरिरहेको बताए।

उनले भने, ‘आमजनतालाई सुसूचित गर्दै चेतनशील समाज निर्माणका लागि खबरदारी गर्ने संचारजगत र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा रहेको सेनाको कार्य प्रकृति फरक रहेता पनि राष्ट्रियहित र एकता दुवैको सर्वोपरी लक्ष्य हो।’

सैनिक जनसम्पर्क निर्देशक बस्नेतले सेना र संचारजगतले हरेक तहमा साझेदारी र सहकार्य गर्दै राष्ट्रिय सुरक्षासँग संवेदनशील सूचनाको व्यवस्थापन र पारदर्शीताकासाथ सन्तुलन कायम गर्न जरुरी देखिएको बताए।

सेनासम्बन्धी सही र तथ्य सूचना संप्रेषण गर्न विसं २०५८ चैत २० गते निर्देशनालयको स्थापना भएको थियो। सेनाले यस अवधिमा विभिन्न स्थानमा रक्षा समाचारदाताका लागि अभिमुखीकरण गरेको थियो। हालसम्म ६८३ जना संचारकर्मीले उक्त कार्यक्रममा सहभागी भइसकेका छन्। रासस

प्रकाशित: १६ वैशाख २०८३ ०६:५२ बुधबार