पहिरोका कारण बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड र डुम्रे-बेँसीसहर सडक दिउँसोदेखि पुनः सञ्चालनमा आएका छन्। सडक खुलेपछि बीचबाटोमै अलपत्र परेका सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।
निरन्तरको वर्षापछि मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङको मध्यनेपाल नगरपालिका-६ मा सडकमाथिबाट ढुङ्गामाटोसहितको पहिरो खस्दा बिहानैदेखि यातायात ठप्प भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी हवल्दार मिनबहादुर थापाका अनुसार डोजर प्रयोग गरेर पहिरो पन्छाएपछि दिउँसोदेखि सडक सुचारु भएको हो। सडक खुलेसँगै रोकिएका गाडीहरू आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
यता, बिहानैदेखि अवरुद्ध डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका-१ मा खसेको पहिरोसमेत हटाइएको छ।
सडकमा थुप्रिएको ढुङ्गा र माटो पन्छाएपछि अहिले उक्त खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले बताए। उनका अनुसार सडकमा अब कुनै अवरोध नरहेकाले सवारीसाधन निर्वाध रूपमा चलिरहेका छन्।
यी दुई प्रमुख सडक सञ्चालनमा आए पनि हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्ड भने अझै खुल्न सकेको छैन। उक्त सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण आवागमन पूर्ण रूपमा अवरुद्ध नै छ।
धेरै ठाउँमा पहिरो गएकाले बेँसीसहर-चामे सडक तत्काल सञ्चालन गर्न कठिन रहेको र पहिरो हटाउन केही समय लाग्ने सूचना अधिकारी विष्टले जानकारी दिए।
प्रकाशित: ११ आश्विन २०८३ १६:४४ आइतबार