समाज

नवलपुरमा माइक्रोबस दुर्घटना, ६ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६, पत्थरखोलाको पुलनजिक माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१-००१ ज १००० नम्बरको माइक्रोबस (ईभी हाइस) अगाडिको बायाँतर्फको टायर पन्चर भएपछि अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला माइक्रोबसमा चालक र सहचालकसहित ७ जना सवार थिए। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्।

घाइते हुनेमा कावासोती नगरपालिका-३ का ७४ वर्षीय सुरेश कुँवर, उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ का ४५ वर्षीय धनराज बुढा, वीरेन्द्रनगर-६ का ३६ वर्षीय बलबहादुर बुढा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिका-३ का ५५ वर्षीय बिधासागर लोना चमार रहेका छन्।

माइक्रोबसका चालक कावासोती नगरपालिका–८ का २७ वर्षीय होरामणी महतो पनि घाइते भएका छन्। उनको कालीगण्डकी अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।अन्य घाइतेहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०८३ १०:४५ सोमबार