आँधीखोला गाउँपालिका–१ मा अवस्थित म्हाजु भञ्ज्याङ पर्यटकको रोजाइमा परेको छ। सिरुबारी सामुदायिक घरबास (होमस्टे) पुग्ने मूल सडक किनारमा यो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ।
आँधीखोला गाउँपालिका–१ वडाध्यक्ष पवनकाजी अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि यस ठाउँमा पर्यापर्यटनको माध्यमबाट स्थानीयलाई रोजगारीसँग जोड्नेगरी कार्यक्रम अगाडि सारिएको छ।
“म्हाजु भञ्ज्याङमा पर्यापर्यटन उद्यान, माझकटेरी म्हाजु स्वागत द्वार निर्माण, आकर्षक झुला, प्रतिक्षालय, म्हाजुभञ्ज्याङ इकोभिलेज एन्ड रेष्टोको रूपमा विकास गरिएको छ”, उनले भने, “यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय अर्गानिक स्वाद पस्कनुका साथै स्थानीयस्तरमा उत्पादित वस्तुको बिक्रीका लागि कोसेली घर पनि निर्माण गरिएको छ।”
आँधीखोला गाउँपालिका र स्थानीय युवाको साझेदारीमा यस ठाउँमा पूर्वाधार विकासका लागि झन्डै एक करोड रुपैयाँ लगानी भइसकेको वडाध्यक्ष अधिकारीले बताए।
वडा कार्यालयले सार्वजनिक जमिनलाई भाडामा लगाएर ‘इको स्टे’ सञ्चालन गरेकाले स्थानीय १० जना युवकले रोजगारी पाएका छन्। दैनिक ५०० आन्तरिक तथा बाह्य पर्यटक म्हाजु आउने गरेका छन्।
प्रकाशित: ४ चैत्र २०८२ १०:१० बुधबार