समाज

महानगर प्रहरी प्रमुख भन्छन्- १ हजार जरिवानाकै लागि आ*त्मदा’ह हुनु नपर्ने, अन्य कारण पनि हुन सक्छन्

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनामा नगरप्रहरीको कुनै गलत नियत वा पूर्वाग्रह नरहेको बताएका छन्।

उनले १ हजार रुपैयाँ जरिवानाकै कारण कोही व्यक्तिले यति ठूलो जोखिम मोलेर आत्मदाह प्रयास गर्नुनपर्ने भन्दै यसका पछाडि अन्य घरायसी वा भित्री कारणहरू हुन सक्ने आशंका गरे।

नागरिक न्युजसँगको कुराकानीमा नगर प्रहरी प्रमुख जोशीले भने, ‘महानगर प्रहरीले कुनै नयाँ काम गरेको होइन, सडक र फुटपाथमा अवरोध गर्ने सवारी साधनमाथि गर्ने नियमित कारबाही नै गरेको हो। पीडित युवाप्रति हाम्रो कुनै रिसइबी वा पूर्वाग्रह थिएन। हामी केवल कानुन कार्यान्वयन गराइरहेका थियौं।’

जोशीका अनुसार बिहीबार बिहान करिब ११:३० बजे ती युवकको मोटरसाइकलमा नियमअनुसार ह्वील लक लगाइएको थियो। लक लगाइसकेपछि ती युवकले ‘म जरिवाना तिर्दिनँ, मेरो बाइक जहाँ लैजाने हो लैजानुस्’ भन्दै त्यहाँबाट हिँडेका थिए र केही समय उनी सम्पर्कविहीन बनेका थिए। त्यसको करिब २ घण्टापछि दिउँसो साढे १ बजे ट्राफिक प्रहरी र नगरप्रहरीको संयुक्त टोली मोटरसाइकल लिन गाडीसहित घटनास्थल पुगेको थियो।

‘जब टोलीले मोटरसाइकल उठाएर महानगरको गाडीमा राख्न थाल्यो, त्यसपछि मात्र ती युवक त्यहाँ आइपुगे र दुर्भाग्यवश आफैँलाई आगो लगाउने प्रयास गरे,’ जोशीले थपे, ‘यस्तो खालको आत्मदाहको प्रयास भएको यो पहिलो घटना हो। ती व्यक्तिले केवल १ हजार रुपैयाँ जरिवानाकै लागि आफैँलाई आगो लगाउने निर्णय गर्नु पछाडि अन्य विषयहरू पनि जोडिएका हुन सक्छन्। यो अनुसन्धानको विषय हो।’

महानगरको कदमलाई लिएर सामाजिक सञ्जालमा भइरहेको आलोचना र आन्दोलनका बारेमा बोल्दै उनले फुटपाथ र सडक सर्वसाधारणको सहज आवतजावतका लागि खुला राख्नै पर्ने अडान दोहोर्‍याए।

उनले महानगरले सधैँ कानुन र विधिको पालना मात्र गरिरहेको जिकिर गरे।

प्रकाशित: २५ असार २०८३ २२:०२ बिहीबार