रसुवाको भोटेकोशीमा आएको बाढीबाट उद्धार गरी काठमाडौं ल्याइएका घाइतेहरूलाई काठमाडौं महानगरपालिकाले केयरटेकरको व्यवस्था गर्ने भएको छ।
बाढीबाट घाइते भएकाहरुलाई अस्पतालमा भेट्न पुगेकी काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले परिवारका सदस्य साथमा नभएका बिरामीका लागि महानगरपालिकाले केयरटेकरको व्यवस्था गर्ने बताएकी छन्।
अस्पतालमा भएका बिरामीका परिवारका सदस्य कोही पनि साथमा नभएका बिरामीको हेरचाहमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी नै परिवार बनेर खटिएको डंगोलले बताइन्।
स्वास्थ्यकर्मीहरूको मानवीय सेवाको प्रशंसा गर्दै डंगोलले चिकित्सकसँगको परामर्श र बिरामीको अवस्था बुझ्ने क्रममा केही घाइतेलाई निरन्तर साथ र दैनिक हेरचाह आवश्यक देखिएको बताइन्। त्यसैले परिवारका सदस्य नभएका बिरामीका लागि महानगरपालिकाले केयरटेकरको व्यवस्था गर्न लागेको उनको भनाइ छ।
डंगोलले उद्धारलाई घाइतेलाई एक ठाउँबाट अर्को ठाउँमा ल्याएर छाड्ने कामका रूपमा मात्र बुझ्न नहुने बताइन्। ‘उद्धार भनेको तपाईं एक्लो हुनुहुन्न, तपाईंको ख्याल गर्ने कोही छ भन्ने अनुभूति दिलाउनु पनि हो,’ उनले भनिन्।
उनले विपद्पछि तत्कालीन उद्धार र राहतसँगै पुनःस्थापनाको योजना पनि आवश्यक रहेको भन्दै अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका घाइते कहाँ जाने, परिवार नभेटिएमा कसले साथ दिने, उपचार तथा मानसिक अवस्थाको कसरी व्यवस्थापन गर्ने र घर फर्किन नसक्नेलाई कसरी पुनःस्थापित गर्ने भन्ने विषयमा अहिले नै सोच्नुपर्ने उनले बताइन्।
‘बाढीको पानी घट्दैमा विपद् सकिँदैन, धेरैका लागि त्यसपछि आफ्नो परिवार खोज्ने, गुमाएको जीवन सम्हाल्ने र फेरि शून्यबाट जीवन सुरु गर्ने लामो यात्रा सुरु हुन्छ।’ उनले भनिन्।
प्रकाशित: १३ भाद्र २०८३ १३:५७ शनिबार