समाज

विपद् जोखिम घटाउन तयारी अवस्थामा महानगर

काठमाडौं महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य संयन्त्र सक्रिय पारेको जनाएको छ।

कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ढल, मङ्गल, नाली तथा क्याचपिटलाई नियमित सफाइ गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, सूचना प्रणालीलाई चुस्त बनाउने र वडा तहदेखि सुरक्षा निकायसम्मको समन्वय प्रभावकारी बनाउन उक्त  निर्णय गरिएको छ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको असर र प्रतिकार्य, विपद्का घटनामा राहत वितरण सिफारिस प्रणालीलगायत विषयमा छलफल गर्दै बैठकले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)बाट प्राप्त हुने अवस्थाको तथ्यका आधारमा महानगरवासीलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय गरेको छ।

बङ्गालको खाडीबाट विकसि चक्रवात विकास भएपछि नेपालमा असोज ८ गतेदेखि १२ गतेसम्मको सम्भावित धेरै भारीको सम्भावना रहेको पूर्वानुमान भएपछि यसको प्रभावबाट बच्न पूर्वतयारी तथा प्रतिकार्यका विषयमा बैठक बसेको थियो।

चौबिस घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नु भारी वर्षा हो। एकसय मिलिमिटरदेखि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी र २०० मिलिमिटर वा त्योभन्दा धेरै वर्षा हुनु अति भारी वर्षा हो भनी मापन गरीएको छ।

वर्षाको पानीबाट हुनसक्ने जोखिमको आकलन गर्दा कति समयभित्र कति पानी पर्यो ? कुनकुन ठाउँमा पानी पर्यो ? कुन ठाउँमा परेको पानीले कुन ठाउँमा असर पुर्‍याउँछ भन्ने कुरालाई क्षेत्र विशेष निगरानी गर्नुपर्छ।

उक्त आधारमा सुरक्षा सावधानीका लागि सूचना प्रवाह गर्नुपर्छ । बैठकमा प्रमुखका सल्लाहकार जलस्रोत तथा जलविज्ञान विज्ञान प्रा डा नरेशमान शाक्यले भने, ‘काठमाडौंमा यसअघि धेरै पानी परेकाबेला ११० देखि १२० मिलिमिटर सम्म रेकर्ड भएको छ। यस वर्ष १३३ मिलिमिटरसम्म पानी पर्ने आँकलन देखिन्छ। तर, यसो भन्दैमा डराउनु पर्दैन। सचेत भने हुनुपर्छ।’

जोखिमका दृष्टिले कति मिलिमिटर पानी पर्यो भन्दा पनि कति अवधिमा कति मिलिमिटर पानी परेको हो ? जान्नु अनिवार्य हुन्छ। यसबाट सचेत हुन र सम्भावित जोखिमबाट बच्न सकिन्छ। प्राडा शाक्यको भनाइ थियो।

महानगरपालिकाको तयारीका विषयमा प्रस्तुतीकरण गर्दै बैठकमा विपद् व्यवस्थापन विभागका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका सदस्यसचिव अनिरुद्र नेपालले, महानगरभित्र उपलब्ध सवारीसाधन, विपद् प्रतिकार्य सामग्री तथा उद्धार सामग्री तयारी अवस्थामा राखी आवश्यकताअनुसार ‘फास्ट रेस्पोन्स’मार्फत परिचालन गर्ने तयारी गरिएको बताए।

महानगरपालिकाले पूर्वतयारीअन्तर्गत छ वटा र्‍याफ्टिङ बोट, छ वटा पानी तान्ने पम्प, पाँच वटा जेट मेसिन, २०० जना नगर प्रहरी उद्धारकर्ता तयारी अवस्थामा राखेको छ।

डुबान समस्या समाधानका लागि दैनिक १८ जना जनशक्ति र नियमित सफाइका लागि दैनिक ३०० सरसफाइकर्मी परिचालन गरिरहेको छ।

विपद्का समयमा मानिसलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा महानगरभित्रका केही विद्यालयलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्न आज नै केही विद्यालयको निरीक्षण भएको छ। 

प्रकाशित: ८ आश्विन २०८३ १२:४६ बिहीबार