मिटरब्याज पीडित एक महिलाले गृहमन्त्री समक्ष मिटरब्याजले श्रीमान् मारिएको र घडेरी खोसिएकोले न्याय दिलाउन आग्रह गरेकी छिन्।
मिटरब्याज पीडितहरूको गुनासो सुन्न बाराको निजगढ आएका गृहमन्त्री सुदन गुरुङले समक्ष धनुषा जिल्लाको धनुषाधाम नगरपालिका मंगलपुर निवासी श्याम कुमारी ठाकुरले साहुबाट लिएको कर्जाको तीन गुणा तिर्दा पनि श्रीमान् र घडेरी गुमाउनु परेको दुखेसो रुँदै सुनाएकी थिइन्।
गाउँका साहु शिवजी यादवसँग साढे तीन लाख रुपैयाँ कर्जा लिएको र कर्जा लिएको रुपैयाँको साट्टो साहुको नाममा दुई कट्ठा घडेरी पास गरेको उनले सुनाइन्।
साढे तीन लाख रुपैयाँको ब्याज र सावा गरेर साहु यादवलाई नौ लाख बुझाउँदा समेत उसले घडेरी फिर्ता नगरेको सुनाइन्। घडेरी फिर्ता गर्न भन्दा घरमा काम गरी गरी रहेको अवस्थामा आफ्नो श्रीमान् भोगेन्द्र ठाकुरलाई साहुले कुटेर मारेको उनले बताइन्।
श्रीमानलाई साहुले कुटेर मारिए पछि आफू न्यायको लागि धनुषा प्रहरी र धनुषा अदालतमा धाउँदा समेत कारबाही नगरिएको दुखेसो उनले गृहमन्त्रीलाई सुनाइन्। श्रीमान् र घडेरी समेत नहुँदा खाना, बस्न समेत समस्या भएको उनले सुनाइन्।
ठाकुर जस्तै सय जना जति मिटरब्याज पीडितहरूको पहिलो चरणमा गृहमन्त्रीले गुनासो सुनाएका थिए।
निजगढमा पीडितहरूको गुनासा सुनेपछि गृहमन्त्री सिमरा पुगेका छन्। मंगलबार बिहान ९ः३० देखि निजगढ उद्योग वाणिज्य संघको सभा हलमा मिटरब्याज पीडितहरूको गुनासाहरु दिउँसो ३ बजेसम्म सुनेर उनी सिमराको क्लासिक होटेलमा पुगेका छन्।
साढे ५ घण्टामा सय जना जति मिटर ब्याज पीडितहरूको गुनासोहरू र उनीहरूले राखेको मागहरूलाई पुरा गर्नको लागि आन्तरिक छलफल गर्न सिमरा पुगेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
पीडितहरूको गुनासो सुनेपछि गृहमन्त्रीले पीडित बनाउने आफ्नो पार्टीको नेता वा परिवारको सदस्य जो सुकै होस त्यसलाई पहिला कारबाही गरिने आश्वासन दिएका थिए।
मिटरब्याज पीडितलाई कसैले थाक धम्की दिएमा १०० नम्बरमा फोन गर्न र प्रहरीले त्यसलाई ठाउँको ठाउँबाट नियन्त्रणमा लिएर कारबाही गर्ने उनले आश्वासन दिए।
मिटरब्याज पीडितहरूको गुनासोहरूलाई सम्बोधन गर्नको लागि गृहमन्त्रीले सुन्ने र लेखाउने दुवै काम गरेका थिए। मिटरब्याज पीडितहरूले लिखित रूपमै गृहमन्त्री समक्ष निजगढमै ६ बुँदे माग राखेका छन्।
उनीहरूले सरकारसमक्ष फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, न्यायाधिकरण गठन तथा पीडितको सम्पत्ति फिर्ता गर्न माग गरेका हुन्।
पीडितहरूले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत, जस्तै तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन (छिनुवा) पास, फर्जी चेक लगायतका कागजातलाई मन्त्रिपरिषद् निर्णयमार्फत अवैध घोषणा गर्नुपर्ने बताएका छन्।
साथै मिटरब्याज अपराध उन्मूलन गर्ने स्पष्ट राजनीतिक प्रतिबद्धतासहित शक्तिशाली विशेष ऐन जारी गर्न उनीहरूको माग छ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवर, नेपाल प्रहरीको मधेस प्रदेश प्रमुख डिआइजी ओम अधिकारी, सशस्त्र प्रहरीका मधेस प्रदेश डिआइजी विष्णु प्रसाद भट्ट लगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।
जनकपुरबाट पैदल काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरू चौथो दिनमा निजगढमा पुगेका थिए। पाँचौँ दिन निजगढबाट काठमाडौँ जाने तयारीमा रहेका उनीहरूको गुनासो सुन्न र त्यसको समाधान गर्न गृहमन्त्री उनीहरूलाई भेट्न आएका हुन्।
प्रकाशित: ३० असार २०८३ १८:२८ मंगलबार