ल्हासा स्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिचाङ स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङ सि होङ बिच भेटवार्ता भएको छ। महावाणिज्यदूतावासको कार्यालयमा मंगलबार भेटघाट भएको हो।
भेटका अवसरमा महावाणिज्यदूत निरौलाले महानिर्देशक वाङलाई महावाणिज्यदूतावासमा स्वागत गर्दै सिचाङ अध्यागमन विभागका तर्फबाट महावाणिज्यदूतावासलाई हालसम्म पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।
सो अवसरमा उनले गत असारमा ल्हेन्दे खोलामा गएको बाढीका कारण क्षतिग्रस्त भएको भोटेकोशी नदीको मितेरी पुलको निर्माण कार्य सम्पन्न गरी यही पुस महिनाको १७ गतेदेखि रसुवा नाकाबाट आयात निर्यात सुरु गर्न लागेकोमा चीन सरकार र सिचाङ अध्यागमन विभागलाई नेपालका तर्फबाट धन्यवाद दिंदै यसले नेपाल चीन सम्बन्धमा थप बल पुर्याउने विश्वास व्यक्त गरे।
सो अवसरमा महानिर्देशक वाङले महावाणिज्यदूतावासको कार्यको प्रशंसा गर्दै नेपाल चीन बिचको ऐतिहासिक सम्बन्धले हाम्रा दुई देशबिचको सम्बन्ध बलियो बनाएको उल्लेख गरेका थिए । उनले महावाणिज्यदूतावास र आफ्नो विभाग मिली विगतमा धेरै काम गरेको बताउँदै नेपाललाई सहयोग पुर्याउन आफू सधैं तयार रहेको बताए।
नेपाल चीन सम्बन्धका विविध विषयमा छलफल भएको उक्त भेटका अवसरमा दुई देशबिचका सबै सीमा नाकाहरुलाई दुबै पक्ष मिली व्यवस्थित गर्ने, नाकाहरुमा हुने आयात निर्यात र मानव आवतजावतमा सहजीकरण गर्ने, सुरक्षा व्यवस्था थप बलियो बनाउने, दुई देशका अधिकारीहरुबिच सम्बन्ध अझ सुदृढ बनाउँदै एक अर्का देशबिच भ्रमण टोली आदान प्रदान गर्ने र एक आपसका कार्यहरुमा सहयोग पुर्याउने समझदारी समेत भएको थियो।
प्रकाशित: १६ पुस २०८२ १२:०१ बुधबार