कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटका क्रममा रसुवा बाढीपीडितका लागि राहत रकम हस्तान्तरण हुनुका साथै किसानलाई रासायनिक मलको सहज आपूर्तिका विषयमा महत्त्वपूर्ण छलफल भएको छ।
भेटका अवसरमा मन्त्री चौधरीले विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ नेपाल) द्वारा उपलब्ध गराइएको १ करोड ५० लाख रुपैयाँ कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण गरिन्।
उक्त रकम रसुवाका बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाका काममा खर्च गरिनेछ।
छलफलका क्रममा आगामी सिजनका लागि आवश्यक रासायनिक मलको आपूर्ति र वितरण व्यवस्थाबारे विशेष जोड दिइएको थियो।
बाली लगाउने समयमा किसानले मल अभाव झेल्न नपरोस् भन्नका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गरी समयमै मल भित्र्याउने विषयमा दुवै मन्त्रीबीच सहमति जुटेको छ।
कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेले किसानसम्म मलको सहज पहुँच पुर्याउन सरकारका तर्फबाट आवश्यक बजेट व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ७ आश्विन २०८३ १८:३४ बुधबार