समाज

यान्त्रीकरणले चितवनमा धान उत्पादन बढ्दै : लागत घट्यो, उत्पादकत्व उकासियो

चितवनमा धान खेतीमा आधुनिक यान्त्रीकरणको प्रयोग बढ्दै जाँदा उत्पादन वृद्धि हुनुका साथै लागत समेत घट्न थालेको देखिएको छ। धान रोप्ने मेसिनको प्रयोगले बिउको खपत कम हुने, रोगको जोखिम घट्ने र उत्पादन बढ्ने अनुभव किसानहरूले गरेका छन्।

खैरहनी–१० की पूर्णमायाँ अधिकारीले एक विघा क्षेत्रफलमा धान खेती गर्दै आएकी छन्। विगतमा उनले एक विघाबाट ३६ क्विन्टलभन्दा बढी उत्पादन गर्न नसकेको बताउँदै पछिल्ला वर्षमा भने उत्पादन बढेर ४४ क्विन्टलसम्म पुगेको जानकारी दिइन्। उनका अनुसार चार वर्षअघि सम्म हातले धान रोप्ने गरिएकोमा अहिले मेसिन प्रयोग गर्न थालेपछि उत्पादनमा उल्लेख्य सुधार आएको छ। उनले मेसिनबाट रोप्दा बिउ कम लाग्ने, रोग कम देखिने र उत्पादन वृद्धि हुने अनुभव सुनाइन्।

खैरहनी–१० कै कुसाहाकी अनिता पौडेलले पनि यान्त्रीकरणपछि उत्पादन बढेको बताइन्। २०७९ सालदेखि धान रोप्ने मेसिन प्रयोग गर्दै आएकी उनले पहिले प्रतिकठ्ठा करिब साढे दुई क्विन्टल उत्पादन हुने गरेकोमा अहिले तीन क्विन्टलसम्म उत्पादन हुन थालेको बताइन्। उनका अनुसार उत्पादन वृद्धि मात्र होइन, रोपाइँ खर्चमा पनि उल्लेख्य कमी आएको छ।

उनले विगतमा एक विघा रोपाइँका लागि १२ हजार रुपैयाँभन्दा बढी मजदुरी खर्च लाग्ने गरेकोमा अहिले मेसिनमार्फत करिब पाँच हजार रुपैयाँमै काम सम्पन्न हुने बताइन्। यसरी प्रतिविघा करिब सात हजार रुपैयाँसम्म लागत बचत भइरहेको उनको भनाइ छ।

सरकारी तथ्यांकले पनि चितवनको धान जोन क्षेत्रमा उत्पादकत्व बढेको देखाएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीका अनुसार कृषि यान्त्रीकरण, सिँचाइ पूर्वाधार विस्तार, उन्नत जातको बिउ प्रयोग तथा कृषक तालिमजस्ता कार्यक्रमका कारण धान उत्पादनमा सुधार आएको हो।

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा प्रतिहेक्टर ४ दशमलव १ मेट्रिक टन वर्षे धान उत्पादन भएकोमा आव २०८१/०८२ मा उत्पादकत्व बढेको छ। कार्यालयको तथ्यांकअनुसार २०८२/०८३ मा प्रतिहेक्टर ५ दशमलव ४३ मेट्रिक टन उत्पादन पुगेको छ।

गत वर्ष चितवनमा २७ हजार २५ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिएको थियो, जसबाट १ लाख १३ हजार ८३७ मेट्रिक टन उत्पादन भएको थियो। जिल्लामा धान जोनको क्षेत्रफल ८ हजार ९०० हेक्टर रहेको छ। २०७६/०७७ मा पूर्वी चितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिकालाई समेटेर धान जोन स्थापना गरिएको थियो। अन्य क्षेत्रको तुलनामा यहाँ उत्पादकत्व उच्च रहेको बताइएको छ।

रेग्मीका अनुसार मेसिनबाट रोपिएका बिरुवाबीच उचित दूरी कायम हुने भएकाले बालीमा हावाको प्रवाह राम्रो हुने, रोगको जोखिम कम हुने र विषादीको प्रयोग समेत घट्ने गरेको छ। यसले किसानलाई राम्रो उत्पादन लिन सहयोग पुर्‍याएको उनले बताए।

चितवनमा हालसम्म १४ वटा धान रोप्ने मेसिन सञ्चालनमा रहेका छन्। तीमध्ये १३ वटा मेसिनमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको छ।

कठारस्थित महिला साना किसान कृषि सहकारी संस्थामा मात्रै दुई वटा धान रोप्ने मेसिन सञ्चालनमा छन्। संस्थाकी अध्यक्ष गीता केसीका अनुसार मेसिन आएपछि धान रोप्न सहज भएको छ। उनले एक विघामा कम्तीमा पाँच हजार रुपैयाँसम्म बचत हुने र बिउ पनि कम लाग्ने बताइन्।

चितवनमा रोपाहार अभाव बढ्दै गएपछि मेसिन खरिद गरिएको उनले जानकारी दिइन्। दुई हजारभन्दा बढी महिला किसान आबद्ध रहेको संस्थाले यस वर्ष २० विघाभन्दा बढी क्षेत्रमा मेसिनमार्फत धान रोप्ने तयारी गरेको छ। उनका अनुसार रोपाइँका बेला श्रमिक खोज्ने झन्झटबाट किसान क्रमशः मुक्त हुँदै गएका छन्। चितवनका किसानले २०७६/०७७ देखि धान रोप्ने मेसिन प्रयोग गर्न थालेका हुन्।

मेसिनबाट रोपाइँ गर्दै मनाइँदै २३औँ राष्ट्रिय धान दिवस

चितवनमा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले मेसिनमार्फत धान रोपेर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ। “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारासहित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवन र खैरहनी–१० स्थित महिला साना किसान कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा सोमबार कार्यक्रम हुने भएको हो।

सहकारी संस्थाको परिसरमा आयोजना हुने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख तथा अन्य विशिष्ट व्यक्तित्वको सहभागितामा धान रोपाइँ गरिने जनाइएको छ। बिहान ७ बजेदेखि सुरु हुने कार्यक्रममा धान रोप्ने मेसिनको प्रयोगात्मक प्रदर्शन गरिनुका साथै कृषकलाई आधुनिक कृषि प्रविधिबारे जानकारी दिने उद्देश्य राखिएको कार्यक्रम संयोजक रेग्मीले बताए।

प्रकाशित: १४ असार २०८३ २१:१६ आइतबार