समाज

फूलैफूलको मौसम तिमीलाई...!

फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ। यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ । प्रदर्शनीकक्षमा पुग्नेहरु फूल हेरेर मग्न देखिन्छन् । कोही फूलअघि ‘सेल्फी’ लिइरहेका छन् । कोही आफूलाई मनपर्ने फूललाई तस्बिर र श्रव्यदृश्यमा कैद गरिरहेका छन् । तारादेवीद्वारा स्वरबद्ध गीत ‘फूलैफूलको मौसम तिमीलाई...’ को झझल्को दिलाउनेगरी रङ्गशाला परिसर यतिबेला फूलमय बनेको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीद्वारा आयोजित ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’मा फूल अवलोकन मात्र नभएर किनमेलका लागि सर्वसाधारणको भीड बढ्दो छ। बुधबारदेखि सुरु भएको प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एकैथलोमा ल्याएको हो। सयपत्री, गोदावरीलगायत थरिथरिका फूल बिक्री तथा प्रदर्शनीमा राखिएको छ।

तिहारका बेला फूलको माग र बिक्री बढी हुने भएकाले प्रदर्शनी आयोजना गरिएको हो। पोखराका फूल उत्पादक काशीराम गुरुङले दुई दिनमै सोचेभन्दा राम्रो फूलको किनमेल भएको बताए। “यहाँ आउने कोही पनि रित्तो फर्केर जाँदैन, दिनैभर मानिसहरु आउनेजाने भइरहेको छ”, उनले भने, “फूल उत्पादक किसान, व्यापारी हामी सबै खुसी छौँ।”

तिहारका लागि चाहिने सयपत्री र गोदावरी फूलको बिक्री बढी भइरहेको गुरुङले बताए। प्रदर्शनी अवलोकनका लागि आउनुभएकी पोखरा महानगरपालिका–१० अमरसिँहचोककी शान्ता थापाले प्रदर्शनीमा आफूलाई मनपर्ने फूल रोजीरोजी किन्न पाइने बताए। “प्रदर्शनीमा आउँदा फूल छनोट गर्न पाइन्छ, यहाँको वातावरणले पनि किनूँकिनूँ लाग्ने बनाउँछ”, उहाँले भन्नुभयो, “म फूलमा सौखिन पनि छु, प्रदर्शनीमा आएर रु सात हजार ५०० बराबरको विभिन्न फूल किनेँ।”

फूलको किनमेलमा धेरै मोलमोलाइ पनि नहुने थापाले बताए। उनले प्रदर्शनीको आयोजनाले फूल उत्पादक किसान र व्यवसायीलाई प्रोत्साहित गरेको बताए। पोखरा–१२ मा रहेको गार्डेन नर्सरीका सञ्चालक रुपा श्रेष्ठले प्रदर्शनी अवलोकनमा आउनेको सङ्ख्या उत्साहजनक रहेको बताए। आफूले ११ प्रकारका गोदावरी फूल बिक्री तथा प्रदर्शनीमा राखेको उनले बताए।

“रुचि र चासो लिएर धेरैजना प्रदर्शनी अवलोकनका लागि आइरहनुभएको छ, सबै स्टलमा व्यापार भइरहेको छ, चहलपहल अझै बढ्दै जान्छ”, श्रेष्ठले भने। स्थानीय फूल उत्पादक किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सृजनाका लागि प्रदर्शनी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले बताए। एसोसिएसनमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले फूल उत्पादन र बिक्रीवितरण गर्दै आएको उनको भनाइ छ।

पुष्प व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजार प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड छ। प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, कृषकलाई प्रोत्साहन तथा फूलप्रति आमनागरिकको आकर्षण बढाउने अपेक्षा गरिएको छ। पोखरा महानगरपालिकाका अनुसार पोखरामा करिब २०० रोपनीमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । पोखरामा वार्षिक झन्डै रु तीन करोडबराबरको फूलको कारोबार हुने अनुमान छ ।  

पुष्प प्रदर्शनीमा फूलका २२, कृषि सामग्रका तीन र सूचनामूलक एक गरी २६ प्रदर्शनीकक्ष रहेका छन् ।  पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले विगत केही वर्षदेखि पोखरामा पुष्प प्रदर्शनीको आयोजना हुँदै आएको छ । यही कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको ३५ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएका छन्।

गोदावरी फूललाई केन्द्रित गरेर प्रदर्शनी राखिएको भए पनि सयपत्रीलगायत अन्य विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्रीवितरणका लागि राखिएको एसोसिएसनका अध्यक्ष सुवेदीले बताए। प्रदर्शनीबाट पुष्प व्यवसाय गर्न चाहने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिइरहेको उनको भनाइ छ।

पुष्प प्रदर्शनीको प्रवर्द्धकका रुपमा पोखरा महानगरपालिका र सहयोगीका रुपमा महानगरको आर्थिक विकास महाशाखा, कृषि शाखा, व्यवसाय प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालय, जिल्ला कृषि विकास कार्यालय र पोखरा उद्योग वाणिज्य सङ्घ रहेको छ । पुष्प व्यवसायीका अनुसार पछिल्लो समयमा पोखरामा फूल खेतीप्रति आकषर्ण बढ्दो छ ।

नर्सरीबाट बिरुवा लगेर गाउँगाउँमा फूल उत्पादन गर्ने किसान उत्तिकै छन् । उन्नत बीउबिजन, अनुदान र आधुनिक खेती प्रविधिले पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएको जनाइएको छ। पोखरासहित कास्कीका अन्य स्थानीय तहले पनि फूलखेती गर्ने किसानलाई अनुदान र प्रविधि सहयोग गर्दै आएका छन्।

- रासस

प्रकाशित: २० कार्तिक २०८३ ०६:१३ शुक्रबार