समाज

रौतहटमा कृषि फार्ममा भीषण आगलागी, ७ चौपायाको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडीबेलास्थित आचार्य एकीकृत कृषि फार्ममा अचानक आगलागी हुँदा सात वटा चौपायाको मृत्यु भएको छ।

स्थानीय सन्तोषी बस्नेतले संचालन गरेको कृषि फार्ममा आज बिहान करिब ६ः१० बजे भएको आगलागीमा चार वटा गाई, दुई वटा गाईका बाच्छा र एउटा भैंसी गरी सात चौपायाको मृत्यु भएको हो।

त्यस्तै, दुई वटा गाई र एउटा खसी आगोमा जले पनि उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

आगलागीबाट करिब नौ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आगलागीको कारण भने तत्काल खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आचार्य एकीकृत कृषि फार्म अस्थायी प्रहरी पोष्ट जुडीबेलाबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ।

प्रकाशित: १३ भाद्र २०८३ १२:०४ शनिबार