राष्ट्रिय विपत्तिमा हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुरमा बृहत् रक्तदान सम्पन्न गरिएको छ।
रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा, रोटरी क्लब अफ कपिलवस्तु र शिवराज युथ क्लबको सहआयोजनामा तथा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गौतम बुद्ध पोलिक्लिनिकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
रक्तदान कार्यक्रममा १ सय ४५ सरिक भई १४५ पोइन्ट रगत संकलन भएको छ। विपत्तिको बेला आफ्नो पालिका भित्रै यस्तो बृहत् रक्तदान कार्यक्रम राखिएकोमा आयोजक प्रति शिवराज नगरपालिकाका मेयर अजय थापाले आभार व्यक्त गरे।
‘रसुवामा आएको बढी पछि मुलुक नै शोकमा डुबेको छ, यस्तो विपत्तिको बेला रक्तदान गर्नु निकै पुण्यको काम हो’,उनले भने।
कार्यक्रममा रक्तदान गरेका उनले रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात् गर्नु पर्ने उनले बताए। कार्यक्रम संयोजक गोपाल बन्जाडेले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
रक्तदाताहरूको उत्साहजनक सहभागिताका कारण १४५ पोइन्ट रगत संकलन गर्न सफल भएको उनले बताए। युवा युवती, कर्मचारी, सुरक्षाकर्मी, व्यपारी सामाजिक अभियन्ता लगायतका रक्तदानमा सहभागी भएका थिए।
रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष सन्तोष पौडेलले राष्ट्रिय विपत्तिका समयमा हुन सक्ने रक्त अभावलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको बताए। युवाहरूलाई सामाजिक तथा मानवीय सेवामा जोड्ने उद्देश्यअनुसार क्लबले नियमित रूपमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको उनले बताए।
प्रकाशित: १४ भाद्र २०८३ १८:५६ आइतबार