समाज

मर्स्याङ्दी खोल्न सकस: एक्साभेटरले चट्टान नफुट्ने, विस्फोट गराउँदा जोखिम हुने

बाढी-पहिरोले थुनिएर ताल बनेको मर्स्याङ्दी नदीको निकास खोल्न प्राविधिक चुनौती देखिएको छ।

नदी थुनेर बसेका भीमकाय चट्टानहरू एक्साभेटरले फुटाउन कठिन भएको छ भने त्यसलाई हटाउन विस्फोट गराउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने उच्च जोखिम देखिएको छ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले एक्साभेटरले काम गर्न नसके पनि तत्काल विस्फोट गराउनु थप घातक हुनसक्ने बताए।

‘विस्फोट गराइ चट्टान फुटाउँदा मर्स्याङ्दीको तटीय क्षेत्रमा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्न आवश्यक छ,’ अध्यक्ष घलेले भने, ‘एक्साभेटरले अडिएका ढुङ्गा केही हटाउन सकिए मात्रै तटीय क्षेत्रमा कम क्षति पुग्नेछ।’

स्थानीय स्रोत-साधन प्रयोग गरी सुरक्षित तरिकाले नदी खुलाउन सकिए मात्रै विस्थापितलाई घर फर्काउन सकिने उनको भनाइ छ।

यता प्रशासनले भने एक्साभेटरको भरमा मात्रै बहाव फर्काउन नसकिने भएपछि सावधानीपूर्वक विस्फोट गराउने विकल्पमा अध्ययन थालेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी आंशिक रूपमा काम सुरु गरिए पनि ठूला चट्टान बाधक बनेका छन्।

‘नदीको पानी धार परिवर्तन गरेर आंशिक रूपमा बगिरहेको छ तर ठूला चट्टान फुटाउनैपर्ने बाध्यता देखिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘वरपरका क्षेत्रमा थप क्षति नपुग्ने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लयमा फर्काउन अध्ययन र तयारी भइरहेको छ।’

नदी छिटो खुलाउन सके मात्रै स्थानीयको त्रास हट्ने उनले बताए।

गत आइतबार लमजुङ हिमाल शिर रहेको घट्टेखोलाबाट आएको लेदो, गिट्टी, बालुवा र ठूला ढुङ्गाले मर्स्याङ्दी थुनिएको थियो। नदीले पुलमाथिबाट धार परिवर्तन गर्दा वरपरका केही घरहरू डुबानमा परिसकेका छन्।

बाढी र पहिरोका कारण मनाङको जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। जिल्लाभर सडक सञ्जाल विच्छेद भएको छ भने विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेट सेवासमेत ठप्प छ।

ङिस्याङ गाउँपालिका-४ हुम्देमा बाढी-पहिरो पसेर बस्ती हिलाम्मे बनेको छ। त्यस्तै, सब्जे खोलाबाट सञ्चालित लघुजलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति पुगेपछि मनाङमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध छ।

यसअघि २०७८ सालमा पनि सोही घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दीको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो।

प्रकाशित: १३ आश्विन २०८३ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App