‘जुम्लाको मूल्यवान मार्सी धान, संरक्षण प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित धान दिवस मनाइएको छ।
चैत महिना सुरु भएसँगै धान खेती सुरु गरिने परम्परा अनुसार प्रत्येक वर्ष चैत १२ गते यो दिवस मनाइन्छ। किंवदन्ती अनुसार चन्दननाथ बाबाले भारतबाट धानको बीउ ल्याई तातोपानी-३ लिताकोटको लाछु जिउलाबाट जुम्लामा धान खेतीको सुरुवात गरेका थिए।
विश्वकै उच्च स्थानमा धान फल्ने जिल्लाका रूपमा चिनिएको जुम्लामा हाल २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। चैत १२ मा बीउ भिजाउनेदेखि कात्तिकमा बाली भित्र्याउनेसम्म झन्डै ६ महिने श्रम चक्र चल्ने यहाँको खेती प्रणाली अझै परम्परागत छ। चैत १६ मा पानीबाट बीउ निकाल्ने, २१ गते बेर्ना तयार गरी छर्ने र करिब ४० दिनपछि रोपाइँ गर्ने चलन कायम छ।
कृषि अनुसन्धान केन्द्रले चन्दननाथ-१ र ३ जात सिफारिस गरिसकेको छ भने मार्सी १८, २० र २२ परीक्षणको चरणमा छन्। तर उत्पादन वृद्धि र संरक्षण प्रयासबीच विषादी प्रयोगले गम्भीर चुनौती थपेको छ। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार धानमा फैलिँदै गएको ब्लास्ट रोग नियन्त्रणमा समस्या देखिएको छ।
‘समाधानका लागि सबै सरकारी निकाय सक्रिय हुनुपर्छ,’ उनले भने। विशेष गरी धानमा प्रयोग हुने व्युटाक्लोरले महिला स्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै उनले सचेत रहन आग्रह गरे। जुम्ला अर्गानिक जिल्ला घोषणा भएको दशक बितिसक्दा पनि विषादी नियन्त्रण हुन नसक्नु ठूलो विडम्बना भएको उनको भनाइ छ।
किसानहरूका अनुसार अत्यधिक विषादी प्रयोगकै कारण भोलिका दिनमा जुम्ली मार्सी धानको अस्तित्व नै सङ्कटमा पर्न सक्छ। यसप्रति जिल्लाका आठै स्थानीय तहले गम्भीर पहल गर्नुपर्ने माग उनीहरूको छ। यता कृषि क्षेत्रसँग सम्बन्धित निकायहरू कृषि अनुसन्धान केन्द्र, कृषि विकास कार्यालय र बागवानी अनुसन्धान केन्द्र समेत प्रभावकारी रूपमा सक्रिय नभएको गुनासो किसानहरूले गरेका छन्। उत्पादन लागत उच्च र आम्दानी न्यून हुँदा धेरै किसान वैकल्पिक जाततर्फ आकर्षित हुन थालेका छन्।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार विश्वकै करिब तीन हजार ५० मिटर उचाइमा फल्ने जुम्ली मार्सी धान स्वाद र पोषणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ। ‘ब्लास्ट रोगका कारण यो धान लोपोन्मुख बन्दै गएको छ, संरक्षण र प्रवर्द्धन सबैको साझा जिम्मेवारी हो,’ उनले भने।
उनका अनुसार जुम्ली मार्सी चामलबाट वार्षिक करिब ३ करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। यस वर्ष ६ हजार १ सय २५ मेट्रिक टन उत्पादन भएको छ, अघिल्लो वर्ष २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय ८७ मेट्रिक टन उत्पादन भएको थियो। जुन अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो। रोपाइँ क्षेत्र घटेर २ हजार ८८ हेक्टरमा सीमित भए पनि उत्पादन भने बढेको छ।
धान दिवसको अवसरमा आयोजित कार्यक्रममा विषादीको उचित व्यवस्थापन, बजारमुखी सोचको पुनर्विचार र आत्मनिर्भर कृषि प्रणालीको आवश्यकता औँल्याइएको छ। किसान कविता पराजुलीले विषादीको सही प्रयोग र नियन्त्रण अपरिहार्य भएको बताइन्। कुनै समय ८० मुरीसम्म मार्सी खेती हुने खेतबारी अहिले ३० मुरीमै सीमित भएको किसानहरूको गुनासो छ।
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बूढथापाले श्रमको मूल्य मात्र खोज्ने प्रवृत्तिले कृषिलाई कमजोर बनाएको टिप्पणी गर्दै स्थानीय उत्पादनमै आत्मनिर्भर हुन आग्रह गरे। राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयकी प्रमुख कल्पना नेपाल (आचार्य) ले मार्सी धानको संरक्षणमा सरकारी प्रयास सकारात्मक भए पनि प्रभावकारी बजारीकरण अझै चुनौतीपूर्ण रहेको बताइन्। जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले चन्दननाथ बाबाको ऐतिहासिक योगदान स्मरण गर्दै चैत १२ लाई सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा लिनुपर्ने बताए।
चैत १२ मा बीउ भिजाउने परम्परा केवल कृषि कर्म मात्र नभई सामाजिक, सांस्कृतिक पर्वका रूपमा समेत स्थापित छ। आज जुम्लामा सार्वजनिक बिदा समेत दिइएको छ। यस दिन महिलाहरूले माङ्गल गाउँदै चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका र कुलदेवताहरूको सम्झना गर्दै बीउ राख्ने चलन छ। कामका लागि बाहिर गएका स्थानीयहरू पनि यही दिनअघि घर फर्किने परम्परा रहेको छ। ‘चैत १२ मा नआएको जुम्ली मर्यो सरह’ भन्ने जनविश्वासले यसको सामाजिक महत्त्व झल्काउँछ।
समुद्र सतहदेखि करिब २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने जुम्ली मार्सी धानको सहरमा माग बढ्दो छ। किंवदन्ती अनुसार सन् १०९८ मा यसको परीक्षण र सन् १११२ मा औपचारिक खेती सुरु भएको मानिन्छ। तर परम्परा, उत्पादन र पहिचानको प्रतीक बनेको यही धान अहिले संरक्षणभन्दा विषादी र रोगको दोहोरो दबाबमा छ, जसले जुम्लाको कृषि भविष्यबारे गम्भीर प्रश्न उठाएको छ।
प्रकाशित: १२ चैत्र २०८२ १३:४० बिहीबार



