भदौ १० गते रसुवामा आएको बाढीपटि मृत्यु भएका ९८७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। तर ठूलो संख्यामा शव पहिचान गर्न नसकिएपछि तीमध्ये ५८१ शव विभिन्न जिल्लामा जमिनमा पुरिएको छ।
प्रहरीका अनुसार मंगलबार बिहानसम्म चितवनमा मात्रै विभिन्न मानव अंगसहित ३२१ वटा शव फेला परेको छ। तीमध्ये अधिकांश शव पहिचान गर्न सकिने अवस्थामा छैनन्। रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० वटा शव फेला परेका छन्।
फेला परेका शवमध्ये मंगलबार बिहानसम्म ५६ जनाको मात्रै सनाखत भएको छ। सनाखत भएका शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान हुन सकेको छैन।
सनाखत हुन नसकेका ५८१ वटा शव जमिनमा पुरिएको प्रहरीले जनाएको छ। चितवन, नवलपरासी, नुवाकोट, कास्कीलगायत जिल्लामा पुरिएका शवमध्ये २६२ वटा महिला वा पुरुष कुन हो भन्नेसमेत खुल्न सकेको छैन। यस्तै, १२१ वटा पुरुष र १९८ वटा महिला शव रहेको प्रहरीले जनाएको छ।
सबैभन्दा धेरै शव चितवनमा पुरिएका छन्। चितवनमा फेला परेका ३२१ शवमध्ये २८० वटा पुरिएको प्रहरीले जनाएको छ। त्यहाँ १२ वटा शवको मात्रै सनाखत भएको छ र सनाखत भएका सबै शव आफन्तको जिम्मा लगाइएको छ। बाँकी शवको पनि पहिचान हुन नसके पुरिने चितवन प्रहरीले जनाएको छ।
नवलपरासी पूर्वमा १५९ वटा शव पुरिएका छन्। यस्तै, कास्कीमा ७८ वटा शव पुरिएका छन्। फेला परेपछि तत्काल पोखरा लगिएका केही शव पहिचान हुन नसकेपछि कास्कीमै व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १६ भाद्र २०८३ १४:५९ मंगलबार